Aawaj Nepal
Aawaj Nepal

२०७५ साल नेपाली चलचित्रको लागी सफल कि असफल ?


आवाजनेपाल, २०७५ चैत २९ शुक्रबार


काठमाडौँ– वर्ष ०७५ नेपाली चलचित्रका लागि लाभदायक सिद्ध हुन सकेन । व्यवसायका हिसाबले शून्य बराबर रहेको यो वर्ष फिल्म निर्माणका रूपमा भने क्रमिक बढ्दै गइरहेको छ ।
गत वैशाख ७ गते प्रदर्शनमा आएको ‘स्वर्ग मेरो गाउँ’देखि वर्षको अन्तिम अर्थात चैत २९ गते शुक्रबार अर्थात आजबाट प्रदर्शनमा आएका ‘यात्रा ः द म्युजिकल भ्लग’ र ‘ए मेरो हजुर ३’ सम्म करिब एक सय हाराहारीमा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।

आज शुक्रबारबाट प्रदर्शनमा आएका चलचित्रहरूको व्यापारिक तथ्याङ्क आइनसकेको अवस्थामा यो वर्षको चलचित्र बजारलाई फर्केर हेर्ने हो भने पनि गत दुई वर्षहरू झैँ निरासाजनक वर्षका रूपमा लिन सकिन्छ । विगतका वर्षझँै यो वर्ष पनि निर्देशक दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ शृङ्खलाको नयाँ चलचित्र ‘छक्का पञ्जा ३’ नै सर्वाधिक आर्जन गर्ने चलचित्रको पङ्क्तिमा सबैभन्दा अगाडि नै पर्न सफल भएको छ ।

विभिन्न सञ्चार माध्यमबाट प्रकाशमा आएका तथ्याङ्कअनुसार ‘छक्का पञ्जा ३’ले करिब अठार करोड रुपैयाँको आर्जन गरेको देखिन्छ भने यो वर्ष व्यावसायिक रूपमा सफल मानिएका अन्य चलचित्रहरूमा ‘जय भोले’, ‘नाइँ नभन्नु ल ५’, ‘चङ्गाचेट’, ‘प्रसाद’, ‘बोबी’ रहेका छन् ।

सामान्यतया अहिले करिब तीन करोड रूपैयाँ कूल आर्जन गर्न सफल चलचित्रलाई व्यावसायिक सफल भएको मानिन्छ । यसलाई फिल्मीभाषामा ‘हिट’को दर्जा दिइन्छ । यो हिसाबमा भन्ने हो भने ‘क्याप्टेन’ पनि हिट चलचित्रको दर्जामा आउनुपर्ने हो । किनभने यस चलचित्रका एक निर्माता भुवन केसीले जानकारी गराएअनुसार ‘क्याप्टेन’को कूल आय छ करोड रूपैयाँको हाराहारीमा पुगेको देखिन्छ । तर ‘क्याप्टेन’लाई हिटको सूचीमा भने राखिएको छैन ।

अहिलेको व्यावसायिक तथ्याङ्कअनुसार एउटा चलचित्रले आम्दानीको कूल रकमबाट प्रदर्शक, वितरक र राजस्वलगायतका अन्य खर्चहरू कटाउँदा निर्माताको भागमा एक तिहाइ रकम मात्र हात पर्ने गरेको छ । यस हिसाबमा ‘क्याप्टेन’को भागमा करिब दुई करोड रूपैयाँ पर्ने देखिन्छ भने यो चलचित्र निर्माण गर्न कुल २ करोड ५० लाख लागेको बताएको छ । यो हिसाबमा यो चलचित्र करिब ५० लाख घाटामा रहेको अनुमान लगाउन गाह्रो पर्दैन ।

नयाँ पुस्ताको वर्चस्व
नेपाली चलचित्रमा अहिले नयाँ पुस्ताको वर्चस्व बढ्न थालेको छ । लोकप्रिय कलाकारहरूको सूचीमा पनि नयाँ पुस्ताकै बाहुल्यता छ । अहिलेका लोकप्रिय अभिनेतामा अनमोल केसी जस्ता युवा नायकको स्थान सर्वोपरी रहेको छ भने अभिनेत्रीहरूमा पनि युवा पुस्ताकै साम्राज्ञी राज्य लक्ष्मी शाहलाई सबैभन्दा अगाडि देख्न सकिन्छ ।

युवा पुस्ताका अन्य लोकप्रिय अभिनेतामा प्रदीप खड्का र सलिनमानले अनमोललाई पछ्याउने काम गरेका छन् । यो वर्ष प्रदीप खड्काको ‘रोज’ र ‘लभ स्टेसन’ गरी २ चलचित्र रिलिज भएका छन् । तीमध्ये यो वर्षको अन्त्यतिर रिलिज भएको ‘लभ स्टेसन’ अहिले पीन प्रदर्शनरत छ । राम्रो व्यापार गरिरहेको भनिएको यो चलचित्रलाई हिट वा सुपर हिट भन्न सकिने अवस्था बनिसकेको छैन ।

साम्राज्ञी राज्य लक्ष्मी शाहको यो वर्ष ‘इन्टु मिन्टु लन्डन’मा र ‘कायरा’ गरी २ वटा चलचित्र रिलिज भए । यी दुईमध्ये ‘इन्टु मिन्टु लन्डन’ले केही हदसम्म सन्तोषजनक व्यापार गर्न सफल भएको देखिन्छ । केही वर्ष अगाडिसम्म स्टारका रूपमा चर्चा कमाएका आर्यन सिग्देल आफैले निर्माण गरेको ‘कायरा’ भने फ्लप चलचित्रको सूचीमा पर्न जाँदा आर्यन र साम्राज्ञीका लागि ठूलै घाटा सावित हुन पुग्यो । साम्राज्ञीपछि स्वस्तिमा खड्का, आँचल शर्मा र मरिष्का पोखरेलले त्यो स्थान हासिल गरेका छन् ।

विल्सन धेरै चलचित्र दिने हिरो
स्थापित पुस्तामा दयाहाङ राई, विपिन कार्की र खगेन्द्र लामिछाने, विल्सन विक्रम राई र बुद्धि तामाङ अभिनेतामा र प्रियङ्का कार्की, वर्षा राउत, नम्रता श्रेष्ठको नाम यो वर्ष अभिनेत्रीहरूको सूचीमा अगाडि परेको छ ।

अभिनेता बुद्धि तामाङ त यो वर्ष सबैभन्दा बढी चलचित्र खेल्ने अभिनेताका रूपमा पनि अगाडि परेका छन् । यो वर्ष उनको ‘हैरान’, ‘कोहलपुर’ ‘एक्सप्रेस’, ‘चङ्गा’, ‘मत्तीमाला’, ‘भैरे’, ‘नेप्टे’, ‘जय भोले’, ‘साली कसको भेनाको’, ‘छक्का पञ्जा ३’ ‘ड्रिम गर्ल’, ‘चौका दाउ’ र ‘क्याप्टेन’ लगायतका थुप्रै चलचित्र प्रदर्शनमा आएको छ ।

मङ्गोलियन कलाकारको भीड
पहिलेका दिनहरूमा नेपाली चलचित्रमा आर्यन वर्णका कलाकारहरूको बाहुल्यता रहने गरेका थिए भने अहिलेका दिनमा मङ्गोलियन वर्णका कलाकारको वर्चस्व बढ्न थालेको छ । हिजोका दिनमा आर्यन सिग्देल जस्ता आर्यन वर्णका अभिनेताको प्रमुख भूमिका रहँदा ‘मेरो एउटा साथी छ’मा मङ्गोलियन वर्णका दयाहाङ राई मुस्किलले सानो रोल मात्रै पाएका थिए । अहिले दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रमराई जस्ता अभिनेता र जसिता गुरुङ, दिया पुन, मिरुना मगर, मेनुका प्रधानलगायतका अभिनेत्रीको वर्चस्व बढ्न थालेको छ ।

पर्दामा देखिने अनुहारहरूमा यसरी परिवर्तन आए पनि चलचित्रको व्यवसायमा भने खासै वृद्धि हुन सकेको छैन । २०७५ सालमा प्रदर्शनमा आएका चलचित्रमध्ये अधिकांशमा नयाँ अभिनेता र नयाँ अभिनेत्रीहरूको अनुहार देख्न पाइन्छ भने चलचित्र निर्देशक र निर्माताहरू पनि सोही अनुपातमा नयाँकै बाहुल्य रहेको देखिन्छ ।

डेब्युमा आसलाग्दा अनुहार
यो वर्ष पर्दामा अवतरण गरेका नयाँ अभिनेताहरूमा सबैभन्दा बढी चर्चा कमाउने धिरज मगर हुन् । उनको पहिलो चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ले राम्रो चर्चा कमाउन सफल भयो । यसै चलचित्रबाट निर्देशनमा देखिएकी रेनेशा बान्तवा राई आसलाग्दा निर्देशकका रूपमा उदाएकी छिन् ।

यस्तै ‘अनुराग’का समुन्द्र पण्डित, ‘समरलभ’का आशिष पिया, ‘शुभलभ’का हरिहर अधिकारी, ‘बुलबुल’का मुकुन भुषाल, ‘लम्फु’का कवीर खड्कालगायतका अभिनेता र शिवानी गिरी, आश्मा गिरी, करुण श्रेष्ठ, सुपुष्पा भट्ट, सुवेच्छा खड्का, रेवती क्षेत्री, प्रियङ्का सिंह ठकुरी, उपासान सिंह ठकुरी, शिल्पा मास्के, निरिसा बस्नेत, सुहाना थापा र मालिका महतको नाम अभिनेत्रीमा अग्रपङ्क्तिमा परेको छ ।

युवा निर्देशक नै चर्चित
निर्देशकमा पनि युवापुस्ता नै चर्चामा रहे । युवा पुस्ताका निर्देशक सुदर्शन थापाको ‘रामकहानी’, मिलन चाम्सको ‘बोबी’, दीपेन्द्र के खनालको ‘चङ्गाचेट’, दिनेश राउतको ‘प्रसाद’, दिवाकर भट्टराईको ‘क्याप्टेन’ र रामबाबु गुरुङको ‘साइँली’, निरक पौडेलको रोजी जस्ता चलचित्र चर्चा बटुल्न सफल भए ।

स्थापित पुस्तामा उज्ज्वल घिमिरेको ‘लभस्टेसन’ चर्चामा रहन सफल भयो, यो एउटा विदेशी चलचित्रको दुरुस्त नक्कल भएका कारण आलोचनाको शिकार बन्न पुग्यो । उज्ज्वल घिमिरेका समकक्षी मान्न सकिने अन्य निर्देशकहरू शोभित बस्नेतको ‘बाबुकान्छा’, मदन घिमिरेको ‘ब्वाइफ्रेन्ड’, प्रदीप श्रेष्ठको ‘ब्ल्याक’ले खासै प्रभाव छोड्न सकेको देखिएन ।

लामो समयको अन्तरालपछि पुनः चलचित्र निर्देशनमा फर्केका अशोक शर्माको ‘जय भोले’ भने व्यावसायिक रूपमा सफलता हासिल गर्न सफल भयो । नयाँ पुस्ताका निर्देशकमा वसन्त अधिकारीको ‘जानी नजानी’, छेतेन गुरुङको ‘डमरुको डन्डिबियो’, प्रतीक गुरुङको ‘हरी’, सङ्गीता श्रेष्ठको ‘कथा काठमाडौँ’, गोविन्द सिंह भण्डारीको ‘रणवीर’, दीपेन्द्र लामाको ‘गोपी’, विनोद पौडेलको ‘बुलबुल’लगायत चलचित्रको प्रशंसा त भयो । तर यी चलचित्र व्यावसायिक रूपमा सफल हुन सकेन ।

हराएका फर्किए
स्थापित कलाकारमध्ये यो वर्ष आर्यन सिग्देलको ‘कायरा’, निखिल उप्रेतीको ‘भिलेन’, किशोर खतिवडाको ‘कहीँ कतै’, ‘निर्जला’, ‘डोली’ र ‘रुमालै छ चिनो’लगायतका चलचित्रहरू प्रदर्शनमा आए । तर यी चलचित्र आए गएको दर्शकले पत्तो पाएन् ।

पुराना पुस्ताका अभिनेता सरोज खनाल यो वर्ष चरित्र अभिनेताका रूपमा निकै नै व्यस्त देखिए । यो वर्ष उनका ‘रेनी’, ‘हैरान’, ‘बेबी आई लभ यु’, ‘क्याप्टेन’, ‘ड्रिम गर्ल’, ‘ब्वाइफ्रेन्ड र ‘शुभलभ’लगायतका चलचित्र प्रदर्शन भए ।

यस्तैगरी रेखा थापाको ‘मालिका’, करिस्मा मानन्धरको ‘हिरोज’, झरना थापाको ‘झिल्के’, सञ्चिता लुइँटेलको ‘गुनगुन’, ‘आरोप’ र ‘रुमालै छ चिनो’ लगायतका चलचित्रले दर्शकको माया पाउन सकेन ।

यसै वर्ष लामो समयदेखि नेपाली चलचित्रबाट टाढा रहँदै आएकी अभिनेत्री निरुता सिंह ‘नाईं नभन्नु ल ५’ मार्फत पुनः अभिनय क्षेत्रमा पुनरागमन गरिन् । धेरै लामो समयसम्म अमेरिका रहँदै आएका अभिनेता दिलिप रायमाझी पनि यो वर्ष ‘पिरिम प¥या छ’ र ‘कहीँ कतै’मा देखिए ।

चर्चा भएका फिल्म फ्लप
यो वर्ष केही चलचित्र प्रदर्शन अगाडि निकै चर्चामा रहे । तर प्रदर्शनमा भने राम्रो दर्शक पाउन सकेनन् । यस्ता चलचित्रको सूचीमा सबैभन्दा अग्रपङ्क्तिमा अनमोल केसीको ‘क्याप्टेन’ पर्यो । नेपालमा बनेको पहिलो हलिउड फिलम ‘द म्यान फ्रम काठमाडौँ’, निर्माणको गुणस्तरमा अगाडि भनिएको ‘रणवीर’, ‘डाइङ क्यान्डल’ निर्देशक नरेशकुमार केसीको ‘रोमियो एन्ड मुना’ र ‘घामपानी’ निर्देशक निर्देशक दीपेन्द्र लामाको ‘गोपी’, विनोद पौड्यालको ‘बुलबुल’, छेतेन गुरुङको ‘डमरुको डन्डिबियो’, निर्देशक अपिल विष्टको ‘कागजपत्र’ चर्चाको सूचीमा रहे पनि व्यावसाय गर्न सकेन ।
गैंडाको खाग तस्करीमाथि बनेको निर्देशक मनोज पण्डितको ‘खाग’, भ्रष्टाचारको विषयमा बनेको ‘१०० कडा १०’ तराई मधेसको ठूलो समस्याका रूपमा रहेको दहेज प्रथामा बनेको निर्देशक यादवकुमार भट्टराईको मैथिली भाषाको चलचित्र ‘भोर’ अनि वैदेशिक रोजगारको कथा बोकेका रामबाबु गुुरुङको ‘साइँली’ पनि चारैतिरबाट प्रशंसा बटुले पनि व्यावसायिक रूपमा सफलता हुन सकेन ।
समग्रमा भन्नुपर्दा ०७५ सालभित्र प्रदर्शित अधिकांश चलचित्रमध्ये तीनवटालाई छोडेर सबै चलचित्र असफल रहे । चलचित्र यसरी असफल हुनु भनेको दर्शकको मन जित्न नसक्नु हो । तर यसतर्फ कसैले गम्भीरतापूर्वक ध्यान दिएको देखिँदैन ।

तीन सुझाव
–कतिपय कलाकारहरूले आफ्नो पारिश्रमिक बढाएर बीस, तीस ५० लाखसम्म पु¥याका छन् । अहिले एउटा चलचित्र निर्माण गर्दा कलाकारका लागि मात्र नै ५०, ६० लाख रुपियाँ पारिश्रमिकको रूपमा छुट्याउनुपर्ने अवस्था आइसकेको छ । तर यसरी पारिश्रमिक आकासिँदा यसको असर चलचित्र बजेटमा नराम्रो असर परेको छ । यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

–गरिब मुलुकका लागि १०० हाराहारीको चलचित्र प्रदर्शनमा आउँदा सबै चलचित्र हेर्न सक्ने अवस्था कसैको आयले दिँदैन । एउटा चलचित्र मल्टिप्लेक्समा गएर हेर्न जाने हो भने एक जनाले कम्तीमा पाँच सय रुपियाँ खर्च गर्नुपर्ने अवस्था छ । वर्षमा एक सय चलचित्र हेर्न पचास हजार रुपियाँ खर्च गर्नुपर्ने हुन्छ, जुन सम्भव छैन । त्यसैले सबैभन्दा पहिला चलचित्र निर्माणको सङ्ख्यामा नै कटौती गर्नु अहिलेको सबैभन्दा उत्तम कुरा हो ।

निर्माता निर्देशक आफ्नो चलचित्रको आम्दानी भएको भन्दा कैयौँ गुना बढाएर भन्ने गरेका छन् । यसले नयाँ लगानीकर्ताहरू लोभिरहेका छन् । त्यो प्रवृत्ति हटाउनुपर्छ वा चलचित्रको वास्तविक आयको तथ्याङ्क सार्वजनिक हुने गरी बक्स अफिसको व्यवस्था हुनपर्छ ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180