Aawaj Nepal
Aawaj Nepal

सीके राउतको पार्टी : मधेसवादी दलप्रति आक्रामक, केन्द्रप्रति नरम


आवाज नेपाल, २०७५ चैत २८ बिहीबार


सीके राउतको पार्टी : मधेसवादी दलप्रति आक्रामक, केन्द्रप्रति नरम

काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले गठन गरेको जनमत पार्टीले तराई मधेसमा आफ्नो सङ्गठन विस्तारमा तीव्रता दिएको छ ।

सो पार्टीले अहिले तराईका विभिन्न जिल्लामा जिल्ला परिषद् गठन गर्नुका साथै आमसभा गरिरहेको छ । साथै युवा, महिला, विद्यार्थी, सहकारी, किसान, दलितलगायतका भ्रातृ सङ्गठन बनाइरहेको छ ।

तर सीके राउत जनमत पार्टी गठन गर्दै मूलधारमा आएपछि सबभन्दा बढी आक्रमक मधेसी केन्द्रित दल अर्थात प्रदेश २ को सरकारप्रति देखिन्छन् ।

स्वतन्त्र मधेसको माग लिएर आन्दोलनरत रहँदा केन्द्रीय सरकारप्रति आक्रमक देखिएका सीके राउतको आक्रमणको तारो अहिले मधेसी दल र त्यहाँका सरकारप्रति बढी आक्रामक देखिएको छ । केन्द्र सरकारप्रति उसको नीति अहिले ‘अनाक्रामक’ देखिन थालेको छ ।

आखिर सीके राउतले आफ्नो नीति ‘मधेसीहरुलाई अन्याय गरिएको’ संविधान संशोधनको माग प्रमुखताका साथ उठाइरहेका मधेसवादी दलहरूप्रति नै किन आक्रमक बनाइरहेका छन् त ? यसबारेमा चर्चा गर्दै पूर्वराजदूत एवं मधेस मामिलाका जानकार विजयकान्त कर्ण भन्छन्, केन्द्रीय सरकारसँग सीके राउतको एलाइन्स छ । उहाँलाई मधेसमा त्यसैका लागि खटाइएको छ र उहाँले आफ्नो काम गरिरहनुभएको छ ।’

‘सीके राउतले केन्द्रको संविधान स्वीकार गरेको कारण त्यसको विरोध नगरेको’ बताउँदै कर्णले ‘सीके राउत प्रदेश २, ५ र ७ मा पनि गए तर त्यहाँका सरकारको कुनै विरोध नगर्नुले पनि उनको नियत पुष्टि भएको’ बताए ।

प्रदेश २ मा मात्र उनको सङ्गठन भएको हुनाले प्रतिस्पर्धीको हिसाबले त्यसको विरोध गरेको हो ।

राउतले चैत २१ गते आफ्नो फेसबुकमा लेखेका थिए– ‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार केका लागि ? मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन ।

भोजभतेरमै ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काडेसरी कर बढाएर उठाएको करौडौँ रूपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्रबाधा भएन । तर अहिले भोक–भोकै घरबारविहीन भएर विचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०–२० दिन सामूहिक रूपमा मेस सञ्चालन गरेर दाल–भात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ । हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ?’

भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेश सभालाई सम्बोधन गर्न गएका बेला मुख्यमन्त्री लालबाबु राउतले ओलीको सम्मानमा पनि भोजभतेर गरेका थिए । त्यो विषयमा सीके राउतले प्रधानमन्त्रीको नाम उल्लेख नगरी विदेशी शब्दको प्रयोग गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर भ्रमण गरेको बेला पनि मुख्यमन्त्री राउतले भोजभतेर गरेका थिए । त्यो कुरा सीके राउतले उल्लेख गरेका छन् ।

त्यति मात्रै होइन प्रदेश सरकारको विरोधमा मुर्दावादको नारा पनि लगाएका छन् ।

त्यही दिन उनले दलित र मुस्लिम विरोधी प्रदेश सरकार मुर्दावाद ! लेखेका छन् र सरकारमाथि विभिन्न आरोप लगाएका छन् ।

► दलित र मुस्लिमको कोटा खोसेर अरूलाई दिने प्रदेश प्रहरी ऐन ल्याउने यही प्रदेश सरकार ।

► दलितहरु प्रदेश सभा घेराउ गर्न जाँदा दमन गर्ने यही प्रदेश सरकार ।

► दलितलाई अछूत ‘चमार’ भनेर गाली गर्ने यही प्रदेश सरकारका मन्त्री ।

► आफैले लगानी गरेको यज्ञमा दलितलाई भित्र प्रवेश गर्न नदिने यज्ञको उद्घाटन र संरक्षण गर्ने यही प्रदेश सरकारका मन्त्री ।

► दलित, मुस्लिम र जनजाति मुसहरहरुको घर भत्काउँदा केही नगर्ने यही प्रदेश सरकार ।

► जनकपुर क्षेत्रबाट दलित र मुस्लिमलाई डेरा नदिई धपाउँदा धपाउनेहरुलाई संरक्षण दिने यही प्रदेश सरकार ।

► अहिले, बाराको हावाहुरीमा अधिकांश मुस्लिम र दलित मारिँदा कानमा तेल हालेर सुत्ने यही प्रदेश सरकार । मारिनेको सूची हेरौँ । हुरीले बढी पीडित हर्दिया जस्ता दलित बस्तीमा कुनै भीआईपी र राहत पनि पुगेको छैन ।

चैत २१ गते उनले १४ वटा पोस्ट गरेका छन्, जसमा एउटा पनि पोस्ट केन्द्र सरकारको विरोधमा छैनन् । जब कि बारा–पर्सामा केन्द्र सरकारभन्दा बढी प्रदेश २ सरकारको उपस्थिति थियो । पूर्वराजदूत कर्णको आरोप छ, ‘सीके राउतले मधेसमा काँग्रेस र नेकपाको भूमिकामा रहेका हुनाले केन्द्रको विरोध नभएको हो ।’

चैत २२ गते बिहानै सीके राउतले आफ्नो फेसबुकमा मुख्य मन्त्री राउत र अर्थमन्त्री विजय यादवलाई नेपाली सेनाले दिएको सुरक्षाको विषयलाई मुद्दा बनाउँदै फेसबुकमा लेखेका छन्, ‘हुरी पीडितसँग युद्ध लड्न जाँदै मुख्यमन्त्री । कठै विचरा ! वर्षमा एउटै मात्र पनि राम्रो काम गरेको भए आज आफ्नै घरआँगन जान पनि आफ्नै मान्छेको छातीमाथि बन्दुक तानेर यसरी जानु पर्दैनथ्यो ।’

‘गरिब जनताबाट असुलिएको ढुकुटीबाट आफ्नालाई पैसा बाँड्ने र करोडौँ भ्रष्टाचार गर्नेबाहेक कामै केही गरेनन् । आज कति दिन भइसक्यो हुरीपीडितहरु घरबारविहीन भोकभोकै खुला आकाशमुनि रात बिताएको तर मुख्यमन्त्री अन्तरवार्ता दिन र मिडियाबाजीमै मस्त छन्, एक दिन पनि पीडितलाई खाना खुवाउन सकेको छैनन् ।’

तर स्वतन्त्र मधेस गठबन्धनलाई मूलधारको राजनीतिमा ल्याउन मुख्य भूमिका खेलेका तथा जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंह भन्छन्, ‘बारा–पर्साको घटनामा प्रदेश सरकारले पुरै दोष केन्द्र सरकारमाथि लगाउँछ । त्यही भएर हामीले प्रदेश सरकारको विरोध गरेका हौँ, आफू केही पनि नगर्ने, केन्द्र सरकारको दोष देखाए मात्र बस्ने भनेर हामीले विरोध गरेका हौँ ।’

केन्द्र सरकारप्रति आफूहरु नरम नरहेको दाबी गर्दै उनले ‘केन्द्र सरकारले अहिले कुनै गतिविधि नै गरेका छैनन् भने त्यसको विरोध मात्र गरेर के गर्ने ? विरोध गर्ने एउटा केही न केही मुद्दा त चाहियो नि !’ चन्दन आफूहरुमाथिको आरोपको प्रतिवाद गर्दै भन्छन् । ‘प्रदेश सरकार अझै अलमलमा छ, मधेसी जनताप्रति अझै पनि आफ्नो भिजन स्पष्ट गरेको छैन’, भन्दै चन्दन अगाडि भन्छन्, ‘आफूहरुले त खबरदारी मात्र गरेको हो ।’

तर बीबीसीका पत्रकार बृजकुमार यादव चन्दन सिंहको कुरासँग सहमत छैनन् । उनी भन्छन्, ‘प्रदेश सरकार अथवा मधेसको यो अवस्थामा पुर्याउने काम केन्द्र सरकारले नै गरेको हो । अहिले पनि सारा मधेस केन्द्रको विरोधमा आन्दोलन गर्ने भनी तम्तयार बसेका छन् । कहीँ न कहीँ विरोध पनि भइरहेका हुन्छन् तर जनमत पार्टी केन्द्रप्रति रहस्यमय ढङ्गले मौन रहेको छ ।’

जनमत पार्टी तराई मधेसमा मात्र केन्द्रित छ । त्यही भएर आफ्नो स्थान बलियो बनाउनका लागि सानोभन्दा सानो कुरामा आलोचना गरिरहेका हुन्छन् । पत्रकार यादवले मधेसवादी दल र त्यहाँको सरकारको विरोध गर्नुको बाध्यता छ, सीके राउतसँग । यदि विरोध गरेन भने उसले त्यहाँ ठाउँ नपाउने भएकाले त्यस्तो गरेको बताए ।

जनमत पार्टी अहिले मधेसमा प्रतिस्पर्धामा पनि छैन, आफूलाई स्थापित गर्न अहिले मधेसमा त्यहीका दल सरकारको विरोध गरिरहेको छ । फोरम र राजपा नेपालका कार्यकर्ता तथा नेता आफूतिर तान्नका लागि उनी जबर्जस्त रूपमा तयारीका साथ अगाडि बढिरहेका छ किनभने राजपा र फोरममा काँग्रेस र नेकपाको मान्छे जान चाहँदैन भने जनमत पार्टीमा जाने कुरै हुँदैन । त्यही भएर उनी जानजानी विरोधमा उत्रेको पत्रकार यादवको विश्लेषण छ ।

सीके राउतलाई कसैको न कसैको संरक्षण चाहिन्छ र अहिले केन्द्रको संरक्षणमा बसेका छन्, र त्यसैको फाइदा उठाएर केन्द्रले सीके राउतको काँधमा बन्दुक राखेर मधेसमा चलाइरहेको टिप्पणी पत्रकार यादवको रहेको छ । काँग्रेस र नेकपाले जसरी राजपा र फोरमको विरोध गरिरहेको छ त्यसरी नै सीके राउतले पनि विरोध गरिरहेको उनको दाबी छ ।

जनमत पार्टीको झापादेखि कैलालीसम्म १८ वटा जिल्लामा सङ्गठन रहेको छ । प्रायः जिल्लामा पहिलादेखि नै सङ्गठन थियो । त्यसलाई संशोधन गर्ने काम भइरहेको नेता सिंहले बताए । अधिकांश जिल्लामा जनमता पार्टीको सङ्गठन बनिसकेको छ ।

सङ्गठन विस्तारकै सिलसिलामा मधेसमा दुईवटा आमसभा गर्ने तयारी जनमत पार्टीको रहेको छ । ३० गते सिरहाको मिर्चैयामा र वैशाख ५ गते प्रदेश ५ मा आमासभा गर्ने तयारी भइरहेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180