Aawaj Nepal
Aawaj Nepal

भारतीय लोकसभा निर्वाचन : कुन राज्यमा कसको पल्ला भारी ? (तथ्याङ्कसहित)


आवाज नेपाल, २०७५ चैत २८ बिहीबार


भारतीय लोकसभा निर्वाचन : कुन राज्यमा कसको पल्ला भारी ? (तथ्याङ्कसहित)

आजदेखि भारतमा लोकसभा निर्वाचन सुरु भएको छ । पहिलो चरण अन्तर्गत चार राज्यको ९१ लोकसभा सिटका लागि निर्वाचन सुरु भएको हो । पहिलो चरणमा आन्ध्र प्रदेश, अरुणाञ्चल,मेघालय र उत्तराखण्डमा निर्वाचन हुँदैछ ।

नेपाली समयअनुसार चैत २८ देखि सुरु भएको यो निर्वाचन जेठ ५ गतेसम्म (अप्रिल ११ मे २३) ७ चरणमा सम्पन्न हुँदैछ । यो निर्वाचनमा ९० करोड भारतीय मतदाताहरुको सहभागिता हुँदैछ । निर्वाचनमा त्यहाँका राजनीतिक पार्टीहरुबीच निकै कडा प्रतिस्पर्धा हुँदैछ । विशेषगरी सत्तारुढ दल भाजपा र काँग्रेस आईबीच निकै कडा र चूनौतीपूर्ण प्रतिस्पर्धा हुुँदैछ । ती दुई पार्टीका शीर्ष नेताहरुबीच निर्वाचन अभियान सुरु भएदेखिनै निकै गम्भीर खालको वाक युद्धनै सुरु भएको छ । भारतीय जनता पार्टीको शीर्ष नेतृत्वले कँग्रेस आईलाई परिवारवादमा फसेको र परम्परावादी पार्टीको आरोप लगाइरहेको छ भने काँग्रेस आईले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाका अध्यक्ष अमित शाहमाथि निकै क्रुर र बेजोड व्यंग्य प्रहार गरिरहेका छन् । भारतीय काँग्रेसको नेतृत्वमा विशेषगरी अहिले राहुल गान्धीको चर्को प्रभाव छ भने उनकी बहिनी प्रियंका गान्धी पनि अहिलेको निर्वाचनमा आकर्षणको पात्र बनेकी छिन् । सो पार्टीले सरकार बनाउने स्थिति आएमा गान्धीसहित मायावती र ममता बनर्जीलाई उम्मेद्वार बनाउने तयारी गरेको छ भने भाजपामा मोदीनै आउन सक्ने आँकलन गरिँदैछ । गान्धीसँग प्रधानमन्त्री मोदीको टक्कर निकै बढेको छ । प्रधानमन्त्री मोदीले निर्वाचन अभियानका क्रममा दिएका अभिव्यक्तिहरुको विपक्षी दल समेत रहेको काँग्रेसका नेताहरुले खिल्ली उडाइरहेका छन् । भारत–पाकबीच बढेको तनाव र त्यसमा पाकिस्तानी प्रधानमन्त्रीले अप्नाएको लचकताले मोदीको शाख गिरेको भन्दै काँग्रेसले चुनाव प्रचारको मसला बनाउन सफल भएको छ । चुनाव प्रचारका क्रममा प्रधानमन्त्री मोदीले आफू देशको चौकीदार रहेको अभिव्यक्ति दिएपछि, त्यसले भारतीय लोकसभा निर्वाचनको माहोललाई थप तताएको छ । उनको यो अभिव्यक्तिलाई राष्ट्रवादसँग जोडेर हेरिएपनि काँग्रेस नेतृत्वले व्यंग्य गर्न छाडेको छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देखाएको लचकताले मोदीको राष्ट्रवाद फिक्का भएको बहस भैरहेको छ । त्यस्तै भारतीय जनता पार्टीको नेतृत्वले पनि कँग्रेस पार्टीलाई नेहरु–गान्धी परिवारले परम्परावादी (पारिवारिक) ढंगले चलाएको र त्यसरी चलेको पार्टीले राष्ट्र हितको पक्षमा काम गर्न नसक्ने आरोप लगाउँदै आएका छन् । क्षेत्रीय स्तरका पार्टीहरुसँगको प्रतिस्पर्धा र एलाइन्स पनि निकै पेचिलो ढंगले भैरहेको छ ।

सन् २०१४ को निर्वाचनमा कमजोर देखिएका स्थानमा भाजपाले केही सुधार गरेको देखिएको छ । युपिमा भने २० स्थानभन्दा बढी ठाउँमा भाजपाले नोक्सान बेहोर्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले दाबी गरिरहेका छन् । यद्यपि, मोदी नेतृत्वको सरकारले किसानका मुद्धाहरुमा चासो नदिएको भन्दै भएका आन्दोलनहरु र बिहारबाट चुनाव लड्दै गरेका कन्यैहाकुमारको अभियान सत्तारुढ दल भाजपाका लागि निकै ठूलो चुनौती बनेको छ । जेएजयुका छात्र कन्हैयालाई केजरीवालदेखि प्रधानमन्त्री मोदीको गृहप्रदेश गुजरातका केही नेताहरु समेत विजयको शुभकामना दिइरहेका छन् । सत्तारुढ दल भाजपा, काँग्रेस आइ, अन्य क्षेत्रीय पार्टी र वामपन्थी पार्टीहरुसँगको टक्कर पनि निकै पेचिलो देखिन्छ । भाजपा र काँग्रेसको दाँजोमा कमजोर देखिएका वामपन्थी पार्टीहरुले पनि केही निर्वाचन क्षेत्रमा प्रभाव पार्ने देखिन्छ तर उनीहरुको स्थिति के हुन्छ भन्ने अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन ।

टाइम्स नाउ र बिएमआरको मत सर्वेक्षण अनुसार ५४३ सिटमध्ये नेशनल डेमोक्र्याटिक एलाइन्स(एनडिए) को पक्षमा २७९, काँग्रेस आइको नेतृत्वमा रहेको एलायन्स पक्षमा १४९ र अन्य दलहरुको पक्षमा ११५ सिट आउने आँकलन गरिएको छ । एनडिएको नेतृत्वको वर्तमान सरकारविरुद्ध असन्तुष्टीहरु देखिएपनि प्रधानमन्त्री मोदीले अघि सारेको राष्ट्रवादको नारा, उनको चौतर्फी प्रभाव र भाजपा अध्यक्ष अमित शाहको नेतृत्व यसमा हावी भएको आँकलन गरिदैछ । भाजपा र काँग्रेसले अघि सारेको विदेश नीतिमा समेत टक्कर देखिन थालेको छ । छिमेकीहरुलाई हेर्ने दृष्टिकोणमा दुवै पार्टीको समान मत देखिएपनि सार्क र विमस्टेकलाई हेर्ने दृष्टिकोणमा भाजपा र काँग्रेसको भिन्न दृष्टिकोण देखिएको छ । भाजपाले आफ्नो घोषणापत्रमा सार्कको नामै लिएको छैन भने काँग्रेस आइले विमस्टेकलाई इन्कार गरेको देखिन्छ । दुवै पार्टीबीच दक्षिण एसिया, विशेषगरी छिमेकी मुलुकहरुलाई हेर्ने नीतिमा समेत विभिन्नता देखिएपछि यसको प्रभाव निर्वाचनमा समेत पर्ने आँकलन गरिँदैछ । यद्यपि, मत सर्वेक्षणहरुले भने काँग्रेस आइको दाँजोमा सत्तारुढ दल भाजपानै अघि देखिएको छ ।

त्यसैले निर्वाचनमा कुन पार्टीको प्रभाव कुन प्रदेशमा कति छ र कसको पल्लाभारी होला भन्ने बहस अहिले भारत मात्र होइन, दक्षिण एसिया र विश्वभर भैरहेका छन् ।

टाइम्स नाउ र विएमआरले गरेको मत सर्वेक्षणअनुसार भाजपाले उत्तर प्रदेशको २३ सिटमा नोक्सान बेहोर्न सक्ने अनुमान गरेको छ भने पश्चिम बंगाल र उडिसा राज्यमा उसको राम्रो संकेत देखिएको छ । दक्षिण भारतमा भने काँग्रेसको राम्रो प्रभाव देखिएको छ । आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडुको टिडीपी र उडिसामा नविन पटनायकको बीजेडीले हार बेहोर्न सक्ने देखिन्छ ।

कुन राज्यमा कुन पार्टीको प्रभाव कति छ ? यस्तो छ अनुमानित तथ्याङ्क :

उत्तर प्रदेश (८० सिट)

युपिमा भाजपाले करिब २३ सिटको हाराहारीमा नोक्सान बेहोर्नुपर्ने देखिदैछ । एसपी र बीएसपीसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको भाजपाले यसअघि सन् २०१४ मा यहाँबाट ७३ सिट प्राप्त गरेको थियो । यो पटक भने ५० सिट प्राप्त गर्ने अनुमान गरिएको छ । त्यस्तै युपिमा काँग्रेस र भाजपाभन्दा बाहेकको अर्को शक्तिशाली गठबन्धन रहेको छ त्यसले २७ सिट प्राप्त गर्ने देखिँदैछ । काँग्रेस आइलाई ३ सिट प्राप्त हुने अनुमान गरिदैछ । प्रतिशतका आधारमा भने भाजपाले ४५.१ प्रतिशत, काँग्रेस आईको ११.०१ प्रतिशत र अन्य गठबन्धन(जसलाई युपिमा महागठबन्ध पनि भनेर चिनिन्छ) ३७.७ प्रतिशत मत प्राप्त हुने अनुमान गरिएको छ ।

विहार (४० सिट)

विहारमा भाजपा अर्थात एनडिएको पक्षमा २९ सिट प्राप्त हुने अनुमान गरिएको छ भने यूपिए अर्थात काँग्रेस आई नेतृत्वको गठबन्धनको ११ सिट आउने अनुमान गरिएको छ । मत प्रतिशतका आधारमा आँकलन गर्दा भाजपा(एनडिए गठबन्धन) को ४९.१ प्रतिशत, काँग्रेस आई (युपिए गठबन्धन) को ४१.७८ प्रतिशत मत प्राप्त हुने अनुमान गरिएको छ ।

मध्यप्रदेश (२९ सिट)

मध्ये प्रदेशमा यो पटक काँग्रेस आईको निकै राम्रो पक्कड देखिएको छ । यसअघि निकै कमजोर अवस्थामा रहेको काँग्रेसले यो पटक भने ९ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । अघिल्ला निर्वाचनमा निकै कम मतपरिणाम ल्याउँदै आएको काँग्रेसले यो पटक भने ४०.९२ प्रतिशत मत ल्याउने अनुमान गरिएको छ । त्यस्तै भाजपाले ४९.१ प्रतिशत अर्थात २० सिट प्राप्त गर्ने मत सर्वेक्षणले देखाएको छ ।

महाराष्ट्र (४८ सिट)

महाराष्ट्रमा भाजपा र शिवसेनाबीच गठबन्धन रहेको छ । दुवै दलको सैद्धान्तिक धरातल समेत मिल्ने भएकोले यो गठबन्धनलाई निकै शक्तिशाली मानिएको छ । यो गठबन्धले ३८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । काँग्रेस आइले भने यहाँ एनसीपीसँग गठबन्धन गरेको छ । उक्त गठबन्धनले भने १० सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

राजस्थान (२५ सिट)

राजस्थानमा यो पटक काँग्रेस आईको राम्रो संकेत देखिएको छ । सन् २०१४ मा एक सिट पनि नजितेको काँगेस आइले यो पटक भने ७ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । मोदी नेतृत्वको सरकार बनेपछि काँग्रेस आइले राजस्थानमा पार्टीको संगठन विस्तार समेत राम्रो ढंगले गरेको देखिन्छ । उक्त पार्टीले यहाँबाट ४३.०५ प्रतिशत मत प्राप्त गर्न सक्ने अनुमान गरिएको छ । त्यस्तै भाजपाले १८ सिट जित्ने अनुमान गरिएको छ ।

दिल्ली (७ सिट)

दिल्लीमा फेरि एकपटक भाजपाको प्रभाव उत्तिक्कै देखिएको छ । आम आद्मी पार्टी र काँग्रेस आईसँग चर्को प्रतिस्पर्धा भएपनि भाजपाले ४३ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ भने कतै सातै सिट भाजपाले जित्न सक्ने विश्लेषण समेत सुनिने गरेको छ । यद्यपि, सर्वेक्षण अनुसार आम आद्मी पार्टीले २९.५ प्रतिशत र काँग्रेसले १९.६८ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ ।

गुजरात (२६ सिट)

प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश समेत रहेको गुजरातमा भाजपाले २२ सिट प्राप्त गर्ने अनुमान गरिएको छ भने काँग्रेसले ४ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । यसअघि सन् २०१४ को चुनावमा भाजपाले २६ सिटमै विजय हासिल गरेको थियो । यो पटक भने गुजरातमा भाजपाको प्रभाव घटेको देखिन्छ ।

जम्मु काश्मिर (६ सिट)

जम्मु काश्मिरमा हुने निर्वाचनले भने राष्टिय महत्व राख्ने देखिन्छ । भारत र पाकिस्तानबीच बेला बेलामा यो राज्यसँग जोडिएर निकै टक्कर हुने गरेको छ । त्यसैले यहाँका जनताले प्रदान गर्ने मत महत्वपूर्ण हुने गरेको छ । जम्मु काश्मिरमा ६ सिटमध्ये ४ सिट भाजपाकै पक्षमा जाने अनुमान गरिएको छ भने २ सिटमा काँग्रेस आई र महबुबा मुफ्ती नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टीबीच मत बाँडिने देखिएको छ । यसअघि सन् २०१४ को निर्वाचनमा भने भाजपाले ३ सिट प्राप्त गरेको थियो भने पिपल्स डेमोक्रेटिक पार्टीले ३ सिट जितेको थियो ।

उडिसा (२१ सिट)

उडिसा राज्यमा पनि भाजपाको निकै राम्रो पक्कड देखिएको छ । भाजपाले यहाँबाट १२ सिट प्राप्त गर्ने देखिएको छ भने राज्य सरकारको नेतृत्व गरिरहेको बीजेडीले ८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । त्यस्तै काँग्रेस आइले १ सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

असम (१४ सिट)

असममा काँग्रेस आई अर्थात युपिए गठबन्धनको ६ सिट प्राप्त हुने अनुमान गरिएको छ भने भाजपा अर्थात एनडिए गठबन्धनको ८ सिट प्राप्त हुने अनुमान गरिएको छ । प्रतिशतको आधारमा भाजपा नेतृत्वको गठबन्धनले ४७.५० प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ भने काँग्रेस आई नेतृत्वको गठबन्धनले ४५.४० प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ ।

झारखण्ड(१४ सिट)

झारखण्डमा काँग्रेस आई गठबन्धनलाई फाइदा हुने देखिएको छ । सन् २०१४ मा निकै कमजोर देखिएको काँग्रेसलाई यो पटक भने ७ सिट प्राप्त हुने सम्भावना देखिएको छ । भाजपाको पनि ७ सिट आउने आँकलन गरिँदैछ । मत प्रतिशतका आधारमा हेर्दा एनडिए गठबन्धन अर्थात भाजपालाई ४७ प्रतिशत र यूपिए अर्थात काँग्रेस गठबन्धनलाई ४५.४३ प्रतिशत मत प्राप्त हुने अनुमान गरिएको छ ।

पश्चिम बंगाल (४२ सिट)

यो पटक पनि पश्चिम बंगालमा टिएमसी अगाडि देखिएको छ । यद्यपि उसलाई ३ सिट नोक्सान हुने सम्भावना देखिएको छ । यसअघि ३४ सिट प्राप्त गरेको टिएमसीले यो पटक भने ३१ सिटमा चित्त बुझाउनुपर्ने सम्भावना देखिएको छ । त्यस्तै भाजपाले ९ सिट प्राप्त गर्ने सम्भावना देखिएको छ । काँग्रेस आई र अन्य लेफ्टहरुले दुई–दुई सिट प्राप्त गर्न सक्ने देखिदैछ ।

हिमाञ्चल प्रदेश (४ सिट)

हिमाञ्चल प्रदेशमा काँग्रेस आइले १ सिट प्राप्त गर्न सक्ने देखिन्छ भने भाजपाले ३ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । मत प्रतिशतका आधारमा भने भाजपालाई ५१.०७ प्रतिशत र काँग्रेसलाई ४२.८३ प्रतिशत मत झर्ने अनुमान गरिएको छ ।

पञ्जाव (१३ सिट)

पञ्जावमा यो पटक काँग्रेस आईको पल्लाभारी हुने अनुमान गरिएको छ । जम्मा १३ सिट रहेको यो राज्यमा काँग्रेसलाई मात्र ११ सिट प्राप्त हुने अनुमान गरिएको छ । भाजपा अर्थात अकाली गठबन्धनले २ सिटमा चित्त बुझाउनुपर्ने देखिँदैछ । सन् २०१४ मा यो प्रदेशमा आम आद्मी पार्टीले ४ सिट प्राप्त गरेको थियो । यो पटक भने सो पार्टी शून्य हुने सम्भावनाको अनुमान गरिएको छ । किनभने आम आद्मीको अहिलेको सांगठानिक र चुनावी प्रचार पहिलेको तुलनामा कमजोर देखिएको अनुमान गरिएको छ ।

हरियाना र चण्डिगढ (१० र १ सिट)

हरियानामा भाजपा फेरि एकपटक सबैभन्दा अघि देखिने सम्भावना छ । भाजपाले ४९.४२ प्रतिशत मतका साथ ८ सिट प्राप्त गर्ने अनुमान गरिएको छ भने काँग्रेस आइले २८.३४ प्रतिशत मतका साथ २ सिट हासिल गर्ने सम्भावना देखिएको छ । हरियानामा आम आद्मी र आइएनएलडी पार्टीहरुको पनि उम्मेद्वारी परेका कारण ती पार्टीले पनि केही मत काट्न सक्छन् तर सिट प्राप्त हुने सम्भावना भने निकै न्युन देखिन्छ । उता चण्डिगढको १ सिट भने भाजपाको पोल्टामा जाने सम्भावना देखिएको छ ।

छत्तिसगढ (११ सिट)

छत्तिस गढमा काँग्रेस आई निकै अगाडि देखिएको छ । सो पार्टीले ४८.१८ प्रतिशत मतका साथ ८ सिट प्राप्त गर्ने अनुमान गर्न सकिन्छ भने भाजपाले ३ सिट प्राप्त गर्ने सम्भावना छ । भाजपाको मत भने ४४.८ प्रतिशत आउन अनुमान गरिएको ।

उत्तराखण्ड (५ सिट)

उत्तराखण्डमा फेरि एकपटक भाजपा उदाउने संकेत देखापरेको छ । मतसर्वेक्षणका अनुसार भाजपाले सो प्रदेशमा सबै सिट प्राप्त गर्ने अनुमान गरिएको छ । मत प्रतिशतका आधारमा भाजपाको ५३.२ प्रतिशत र काँग्रेस आईको ३४.०८ प्रतिशत मत प्राप्त हुन सक्ने देखिन्छ । अन्य मत भने साना पार्टीहरुको भागमा पर्न सक्ने देखिन्छ । उत्तराखण्डमा काँग्रेस आइले खाता खोल्न निकै मुश्किल देखिएको छ ।

गोवा (२ सिट)

सन् २०१४ मा गोवामा २ सिटनै भाजपाले जितेको थियो । अहिले भने भाजपा र काँग्रेस बीचमा एक–एक सिट पर्ने सम्भावना देखिएको छ । काँग्रेस आइको अहिले गोवामा केही सुधार देखिएको छ । गोवास्थित दमन दीव क्षेत्र भाजपा र दादरा नगर क्षेत्रमा काँग्रेस आई विजयी हुने सम्भावना देखिएको छ ।

तेलंगना (१७ सिट)

तेलंगनामा सत्तारुढ दल भाजपा निकै कमजोर देखिएको छ । प्रतिशतका आधारमा १४.३ प्रतिशत मत ल्याउने अनुमान गरिए पनि भाजपाले १ सिट पनि जित्न नसक्ने अनुमान गरिएको छ । यो प्रदेशमा टीआरएसलाई भारी मत प्राप्त हुने अनुमान गरिएको छ । टीआरएसले ४३.६ प्रतिशत मत प्राप्त गरी १४ सिट जित्ने देखिन्छ भने अन्य दलले ३ सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

आन्ध्र प्रदेश (२५ सिट)

आन्ध्र प्रदेशमा सत्तारुढ दल भाजपा र काँग्रेस आइलाई ठुलै झड्का लाग्ने अनुमान गरिएको छ । यो प्रदेशमा वाइएसआर काँग्रेस पार्टीको ठूलो बर्चस्व देखिन्छ । यो पटकको निर्वाचनमा वाइएसआरले यहाँ २० सिट प्राप्त गर्ने अनुमान गरिएको छ । बाँकी ५ सिट भने टीडीपीको पक्षमा जाने देखिन्छ । वाइएसआरको ४३.७ प्रतिशत र टीडीपीको ३५ प्रतिशत मत प्राप्त हुने अनुमान गरिएको छ ।

कर्नाटक (२८ सिट)

कर्नाटकमा भाजपा अघि देखिएको छ । भाजपाले ४५.१ प्रतिशत मतसहित १६ सिट प्राप्त गर्ने देखिन्छ भने प्रदेश सत्तारुढ दल काँग्रेस जेडिएस गठबन्धन ४३.४ प्रतिशत मतका साथ १२ सिट प्राप्त गर्ने अनुमान गरिएको छ ।

केरला (२० सिट)

केरलामा वामपन्थी मोर्चा र काँग्रेस नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा देखिँदैछ । यहाँ काँग्रेसको गठबन्धनको पक्षमा १५ सिट प्राप्त हुने अनुमान गरिए पनि वामपन्थीहरुले पनि केही सिट ल्याउने अनुमान गरिएको छ । लेफ्टहरुको गठबन्धनले यहाँ ३ सिटभन्दा माथि ल्याउने सम्भावना देखिन्छ । यो प्रदेशमा सत्तारुढ दल भाजपाको निकै कमजोर स्थिति छ । भाजपाले १ सिट ल्याउन सक्ने अनुमान गरिएको छ ।

तमिलनाडु (३९ सिट)

तमिलनाडुमा काँग्रेस आई गठबन्धन बलियो देखिएको छ । काँग्रेस र डिएमके गठबन्धनको पक्षमा ३३ सिट आउने अनुमान गरिएको छ भने सत्तारुढ दल भाजपा नेतृत्वको गठन्धनले ६ सिट प्राप्त गर्ने अनुमान गरिएको छ । यो प्रदेशमा भाजपाको एआईएडीएमकेसँग गठबन्धन छ । मत प्रतिशतमा काँग्रेस नेतृत्वको गठबन्धनले ५३.१२ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ भने भाजपा नेतृत्वको गठबन्धनले ३९.६१ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180