Aawaj Nepal
Aawaj Nepal

के दान दिएको कुरा गोप्य राख्नुपर्छ ?


आवाज नेपाल, २०७५ चैत २७ बुधबार


के दान दिएको कुरा गोप्य राख्नुपर्छ ?

सहयोग भनेको एकदमै निश्वार्थ भावले, समर्पित मनले, हार्दिकतापूर्वक दिनुपर्छ । सदियौंदेखि हामीकहाँ एउटा प्रचलन चल्दै आयो, दान दिने । दानको अर्थ आफुसँग भएको अन्न, लताकपडा, पैसाको केही अंश अरुलाई दिनु ।

जो हुनेखाने छन् । अथवा जोसँग आफुलाई पुग्दो छ, उनीहरुले आफुभन्दा कमजोरलाई सहयोग स्वरुप दिइने कुरा नै दान हो । यसरी दिइने दानबाट दाताले कुनै अपेक्षा राख्दैनथे । कुनै स्वार्थ राख्दैनथे । यो एकदमै निश्वार्थ भावले दिइएको हुन्थ्यो । हार्दिकतापूर्वक ।

अहिले दानको स्वरुप फेरिएको छ । दान अहिले कर्ममाण्ड पुरा गर्ने मेलो बनेको छ । जोगी वा अन्य कसैलाई कुनै सन्दर्भमा/अवसरमा दान दिइन्छ । यसरी दिइने दानको स्वरुप अहिले फेरिदैछ । अहिले ‘आर्थिक सहयोग’, ‘राहत वितरण’को नाममा यस किसिमको सहयोग गर्ने प्रचलन/प्रवृत्ति बढेको छ ।

सहयोग र सेल्फी

केही समयअघि तराईंको बारा-पर्सामा आँधीले तहसनहस बनायो । कतिले ज्यान गुमाए, कतिको घरबार सखाप भयो । कति घाइते भए । यो विपतमा सहयोग गर्नेहरुको लहर नै चल्यो । एकपछि अर्को सहयोग गर्ने लस्कर लाग्यो ।

कोही खानेकुरा बोकेर त्यता पुगे । कोही औषधीपानी लिएर त्यता पुगे । कोही लताकपडा लिएर त्यता पुगे । कोही अस्थायी घरका लागि त्रिपाल लिएर त्यता पुगे । कोही उद्वारका लागि त्यता पुगे ।

यसरी स्वतस्फूर्त जुटेको सहयोग र सौहार्द्धता देख्दा सबैको मन रसायो ।

तर, दुःखलाग्दो चाहि के देखियो भने यसरी ‘सहयोगका लागि’ कति नेतादेखि सेलिब्रेटीहरु तामझामका साथ पुगे । उनीहरुले केही खद्यन्न, केही लताकपडा सहयोग गरे । उनीहरुले सहयोग गरेको कुरा सामाजिक सञ्जालमा छताछुल्ल बनाइयो । सहयोग गरिरहँदा उनीहरुले अनेकन पोज दिए । क्यामेरा अघिल्तिर उभिएर सहयोग गरे । सहयोग गरेको कुरालाई व्यापक रुपमा प्रचार गरे ।

यस्तो प्रवृत्ति केही वर्षअघिको विनासकारी भूकम्पयता नै बढेको छ । त्यसबेला पनि सहयोग गर्ने नाममा सेल्फी खिच्ने र सामाजिक सञ्जालमा हाल्ने होड चलेको थियो । यस्तो लाग्थ्यो, मानौ सहयोग गर्नु वा कसैलाई राहत दिनु भनेको प्रचार गर्नु पनि हो । प्रचार नगरे यस्ता राहत वा सहयोगको अर्थ हुँदैन भने जस्तै देखियो ।

दानको महिमा

वास्तवमा कसैलाई किन दान दिइन्छ ? किन सहयोग गरिन्छ ? किन राहत बाँढिन्छ ?

किनभने कोही विपतमा परेका छन्, संकटमा छन्, अभावमा छन्, दुःखमा छन्, समस्यामा छन् भने उनीहरुलाई सहयोग गर्नु मानविय व्यवहार हो । यस किसिमको व्यवहारले नै हाम्रो सामाजिक मूल्य कायम रहन्छ । अतः हाम्रा पितापूर्खाले यस कुरामा हामीलाई प्रेरित मात्र होइन, अभ्यास पनि गराउँदै आए ।

दान दिनुपर्छ, सहयोग गर्नुपर्छ । मुठी खोलेर दिनुपर्छ । आफ्नो कमाई वा आम्दानीको केही अंश दुःखी गरिबलाई दिनुपर्छ भन्दै सहयोग गर्ने प्रवृत्तिको विकास गरिदिए । यसरी सहयोग गर्नुलाई धर्म वा उपकारसँग जोडेर व्याख्या गरिदिए ।

उनीहरुले दान दिनुपर्छ, सहयोग गर्नुपर्छ मात्र भनेनन् । बरु, यसमा हामीलाई अभ्यस्त गराउँदै आए । त्यो पनि कति वैज्ञनिक ढंगले अभ्यास गराए भने, कुनै विपन्न समुदायलाई निश्चित समय अर्थात मौसममा दान दिन लगाए ।

जुन बेला अन्नपात उब्जाउ भएको हुँदैन । अन्न भण्डार रित्तिदै गएको हुन्छ । प्रकृतिमा पनि खानेकुराको अभाव भएको हुन्छ । ठिक यही बेला दान दिनुपर्ने प्रचलन चलाए । यसबाट के बुझिन्छ भने, संकटको घडीमा नै हामीले दान दिनुपर्छ । सहयोग गर्नुपर्छ । किनभने यस्तै दान नै सार्थक हुन्छ ।

दानको कुरा गोप्य राख्नुपर्छ

अहिले प्रवृत्ति फरक छ । दान वा सहयोग एक लहड भएको छ । हुन त यस किसिमको लहडले गर्दा पनि कतिपयको उद्वार भएको होला । यद्यपी अरुलाई देखाउनका लागि, अरुलाई प्रभावित गर्नका लागि गरिने सहयोग, दिइने आर्थिक/भौतिक बस्तुको खास अर्थ हुँदैन । किनभने सहयोग भनेको एकदमै निश्वार्थ भावले, समर्पित मनले, हार्दिकतापूर्वक दिनुपर्छ ।

हाम्रा पितापूर्खाले कहिल्यै भनेनन् वा सिकाएनन् कि दान दिएपछि झ्याली पिटेर त्यसबारे हल्ला गर्नुपर्छ । दान कसलाई दिइयो, कसरी दिइयो, कति दिइयो भन्ने कुरा खुलाउनुपर्छ भनेर उनीहरुले कहिल्यै भनेनन् । बरु, यो गोपनियता अपनाउनुपर्ने विषय ठाने । अर्थात यदि कसैलाई दान दिइन्छ भने त्यो कुरा गोप्य राख्नुपर्छ ।

यदि दान दिएको कुरा गोप्य राखिदैन, कसैलाई सहयोग गरिन्छ र त्यसको झ्याली पिट्दै हिँडिन्छ भने त्यसमा हाम्रो स्वार्थ लुकेको हुन्छ । दम्भ लुकेको हुन्छ । स्वार्थ एवं दम्भ राखेर कसैलाई दान दिनु सार्थक कर्म होइन ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180