Aawaj Nepal
Aawaj Nepal

भत्ता नपाएको विरोधमा रामेछापका प्राविधिकले कार्यालयमा गरे तालाबन्दी


आवाजनेपाल, २०७५ चैत ४ सोमबार


भत्ता नपाएको विरोधमा रामेछापका प्राविधिकले कार्यालयमा गरे तालाबन्दी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रामेछाप जिल्लामा कार्यरत प्राविधिकहरुले राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा सोमबार तालाबन्दी गरेका छन् ।

पुनर्निर्माण कार्यक्रमअन्तर्गत कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुलाई नेपाल सरकारले दिँदै आएको भत्ता र प्रोत्साहन भत्ताबापतको रकम कटौती गरेको विषयलाई लिएर आन्दोलन गर्दै आएका प्राविधिकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाइको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

पुनर्निर्माणको काममा गाउँगाउँमा खटिएका प्राविधिकहरुको सरकारले स्वास्थ्य विमा गरिदिनुपर्ने, सरकारले दिँदै आएको भत्ता र प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने र कार्यक्षेत्रमा प्राविधिकमाथि हुने जोखिममा सरकारले सुरक्षा व्यवस्था मिलाउनु पर्ने प्राविधिक नृपेश सापकोटाको भनाइ छ ।

रामेछाप जिल्लामा कार्यरत पुनिर्निर्माण कार्यक्रम अन्तर्गतका प्राविधिकहरुले संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । आफूहरुले खाइपाइ आएको तलब भत्ता र प्रोत्साहन भत्ता सरकारले कटौती गरेकाले कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिका संयोजक इञ्जिनियर अरुण महतोले बताउनुभयो ।

गाउँको कार्यक्षेत्रमा खटिएका प्राविधिकहरुलाई सरकारले भत्ता र प्रोत्साहन भत्ता दिने आश्वासन दिए पनि गएको ९ महिनादेखि भत्ता दिएको छैन । प्राविधिकहरुले उठाएका मागहरु जायज भए नभएको पहिचान गरेर सरकारले समस्याको संवोधन गर्नुपर्ने पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख प्रभाकरलाल कर्णले बताउनुभयो ।

तालाबन्दी गरेर माग पूरा नहुने भन्दै तालाबन्दी गर्ने काम नगर्न पनि उहाँले प्राविधिकहरुलाई आग्रह गर्नुभयो । प्राविधिकहरुले आन्दोलन गर्दा पुनर्निर्माणको काम प्रभावित हुने भएकाले आन्दोलनको कार्यक्रम छोडेर आफ्नो माग सम्बोधन गराउनको लागि अन्य विकल्पमा लाग्न पनि कर्णले आग्रह गर्नुभयो ।

कार्यालयमा लगाएको ताला भने प्रहरीले खुलाएको छ । कार्यालयमा लगाएको ताला प्रहरीले खुलाए पनि आफूहरुको माग पूरा नभएसम्म आन्दोलान जारी राख्ने प्राविधिकहरुले बताए ।

रामेछाप जिल्लाको २ नगरपालिका र ६ गाउँपालिकामा गरी १ सय ६८ जना प्राविधिकहरु कार्यरत छन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180