Aawaj Nepal
Aawaj Nepal

‘मेरी छोरीको तोतेबोली सुन्न पाइनँ’


आवाजनेपाल, २०७५ फाल्गुन ३० बिहीबार


‘मेरी छोरीको तोतेबोली सुन्न पाइनँ’

एकाबिहानै सुन्तली अर्थात कुञ्जनाले छोरीलाई जन्म दिई । हाम्रो कोखको पहिलो सन्तान । हाम्रो भविष्य हेर्ने आँखा । हाम्रो जीवनको उमंग ।

सुन्तलीले एकाबिहानै जन्माएकी भएर मैले नाम जुराइदिएँ, ‘सुबिहानी ।’ अर्थात सुन्तलीले जन्माएकी, एकाबिहानै । आफ्नो पहिलो सन्तान । पहिलो मात्र होइन, एकमात्र सन्तान । हेर्ने, खेलाउने रहर कुन आमाबुवालाई हुन्न ?

तर, हामी फरक मोडबाट गुज्रदै थियौं । एक त कुन्जना र म दुबै कलाकार । कलाकारिता नै हाम्रो जीवन धान्ने मुल मेलो । कार्यक्रममा जानुपर्ने, सुटिङ भ्याउनुपर्ने, भेटघाट, अन्र्तवार्ता गर्नुपर्ने । यावत् धपेडीले हामीलाई घरमा बस्ने फुर्सद नै नमिल्ने ।

घरमा बस्न फुर्सद नमिल्नुको अर्थ छोरीसँग बस्नु, खेल्नु पाइएन । सानी बच्चा, जसलाई आफ्नै बुवाआमाको सामिप्य चाहिन्छ । बुवाआमको न्यानो स्पर्श चाहिन्छ । जन्मदिने आमा र बुवाबाट विमुख भएर बस्नु पक्कै नमिठो क्षण हो । तर, हाम्रो वाध्यता र अवस्थाले गर्दा हामीले अझ भनौं मैलें छोरीसँग समय विताउन पाइन ।

मेरी जेठी सासु, जसले मेरी छोरीलाई आफ्नै कोखको छोरी झै ममतामय स्पर्शमा हुर्काइन् । बच्चाहरुको मनोविज्ञान के हुँदो रहेछ भने, जो उनीहरुसँग नजिक हुन्छन् । जो उनीहरुको समिपमा हुन्छन् । उनीहरुसँग नै बढी झ्याम्मिने । मेरी छोरी पनि अहिले हामीभन्दा ठूली आमासँग झ्याम्मिने गर्छिन् ।

तोतेबोली सुन्न नपाउँदा

छोरी हुर्कन नपाउँदै हामी सामाजिक क्षेत्रमा खटियौं । आमा बुवा नै यसरी घर-बाहिर भएपछि एउटा अबोध बच्चालाई कस्तो हुँदो हो ?

हो, उनले व्यक्त गर्न सक्दैन । तर, कुनैपनि बच्चाले आफ्नै आमाको न्यानो काख खोज्छ । यो उनीहरुको जन्मजात गुण वा प्रवृत्ति हो । मेरी छोरीले भने न आमाको काखमा लुटपुटिन पाइन्, न बुवाको बुई चढेर हट घोडा खेल्न पाइन् ।

हामी बाहिर-बाहिरै भयौं ।

जब एउटा शिशु हुर्कदै जान्छ । दुध चुस्छ । रुन्छ । हाँस्छ । छिल्लिन्छ । यो बालसुलभ रोमाञ्चकता हामीले अुनभव गर्नै पाएनौं । हामीलाई रहर थियो, काखमा छोरी खेलाउने । आफ्नै हातले लिटो ख्वाइदिने । तर, एउटा बच्चाको रहरलाग्दो उमेरलाई हामीले सेलिब्रेट गर्न पाएनौ ।

बच्चा अलि अलि हिँड्ने, एक दुई शब्द ओकल्ने, केही नक्कल गर्ने हुँदा सबैभन्दा सुन्दर देखिन्छन्, सबैभन्दा मायालु देखिन्छन्, सबैभन्दा रहरलाग्दो देखिन्छन् जस्तो लाग्छ । सम्पूर्ण मानव जीवनकै स्वणिर्म पल हो यो । तर, हामीले आफ्नी छोरीसँगको यो रहरलाग्दो पल बिताउनै पाएनौ ।

छोरीले तोते बोली बोलेको सुन्न पाइएन ।

छोरी रसिक

अहिले छोरी पाँच बर्षमा लागिन् । तर, यतिका अवधीसम्म मैले छोरीसँग पुरापुरी ७ महिना पनि बिताउन पाएको छैन होला ।

छोरीसँग यसरी टाढा भएकाले होला, उनी मसँग त्यती झ्याम्मिने, खेल्ने गर्दिनन् । मैले खाना ख्वाउँदा पनि त्यती रुची राख्दिनन् ।

तर, स्वभावको हिसाबले चाहि छोरी मेरो फोटोकपी छे । म जस्तै, खानामा पनि । म जस्तै, रमाइलो गर्नमा पनि ।

उनी घरमा खुब नाच्ने । गीत पनि गाउने । नक्कल पनि गर्ने । लुगा राम्रो राम्रो चाहिने । बिहान बेलुकी दाल भात खान्छे । दिउसो स्कुल जान्छे, एलकेजीमा । विहान बेलुकी घरमै रमाइलो गराउँछे, कहिले नाचेर, कहिले गाएर ।

उनलाई अंगुर खानु मनपर्छ, नयाँ लुगा लगाउनु मनपर्छ, नाच्नु मनपर्छ ।

उनी टिभी पनि खुब हेर्थे, अहिले त्यो कम गराएका छौं । मोवाइलमा गीत सुन्छे । बेलाबखत हामीसँग भिडियो च्याट पनि गर्छे ।

एकपटक छोरीले चित्त दुखाइन्

अरुबेला त हामीले छोरीसँग त्यती धेरै समय विताएनौ । एकपटक उनी बिरामी भइन् । हनहनी ज्वरो आएको थियो । ज्वरो आएको भएपनि हामी एक विद्यालयमा पाठ्यसामाग्री बाढ्न पुग्यौं ।

पछि घर फर्केर आएपछि छोरी बोल्दै नबोल्ने । हामीले कति कुरा गर्न खोज्यौं बोलिनन् । किन नबोलेको ? फकाइ फुल्याई सोधेपछि थाहा भयो, उनी हामीसँग रिसाएकी रहिछन् ।

उनले आफ्नै पारामा भनिन्, ‘म बिरामी हुँदा पनि तपाईंहरुले मलाई छाड्नुभयो ।’

उनको कुरा सुनेपछि कुन्जना र म दिनभर मुडअफ । एकदम नरमाइलो लाग्यो ।

छोरी एक उपहार

छोरी जन्मनुलाई हाम्रो पूर्विय संस्कारमा लक्ष्मी भित्रिएको पनि मानिन्छ । अर्थात घर-परिवारमा खुस-समृद्धि भित्रिएको मानिन्छ । हाम्रो हकमा त्यस्तै भयो ।

जसै सुबिहानीले हाम्रो घरमा प्रवेश गरिन्, कुन्जना र मेरो जीवन बद्लियो । त्यसअघि हामी कलाकारिता गथ्र्यौं । कलाकारिता हाम्रो ख्याती कमाउने माध्याम थियो, हातमुख जोर्ने माध्याम थियो, जीवन गुजार्ने माध्याम थियो । तर, छोरी जन्मिएपछि हामीले आफ्नो कलाकारिताको आयम बदल्यौं । हामी अझ फराकिलो क्षेत्रमा आफुलाई समर्पित गर्न उत्सुक भयौं ।

त्यसपछि नै त हो, हामीले एकिकृत नमुना बस्ती निर्माणको अभियान थालेको ।

छोरी सुबिहानी २०७० सालमा जन्मिएकी । २०७२ सालमा विनासकारी भूकम्प गयो । भूकम्पले सबै तहसनहस बनायो । यहि मेसोमा हामीले आफ्नो बलबुद्धीले भ्याएसम्म सहयोग गर्ने प्रण गर्‍यौं । अहिले पनि म सम्झन्छु, न त्यसबेला हामीप्रति कसैको विश्वास थियो । न हामीले केही त्यस्ता ठोस काम नै गरेका थियौैं । तर, राम्रो काम गर्ने आँट गरेपछि त्यसमा सबैको साथ र सहयोग मिल्ने रहेछ । हामीले बस्ती निर्माणको काम गर्‍यौं ।

त्यसपछि भने हाम्रो दायित्व अरु बढ्दै गयो । एकिकृत बस्ती निर्माण गर्ने, बाढी-पीडितलाई उद्वार गर्ने जस्ता कामले हामीलाई घरमा बस्ने फुर्सद नै दिएन । छोरी जन्मिएपछि हामी सामाजिक काममा बढी सक्रिय भयौं । तर, त्यसको प्रभाव चाहि छोरीले आफ्नो आमाबुवासँग बस्ने मौका पाइनन् ।

यस्ता सायदै छोराछोरी होलान्, जसले आफ्ना आमाबुवा हुँदाहुँदै पनि अरुको काखमा हुर्कनुपर्छ । हामी अशक्त थिएनौ, देश वाहिर पनि थिएनौ । तर, हामीले छोरीसँग बस्ने, खेल्ने, रमाउने क्षणलाई त्याग्नुपर्‍यो । यदि त्यो त्याग नगरिएको भए आज हामीलाई सामाजिक उत्तरदायित्वको क्षेत्रमा यसरी अगाडि बढ्न संभव पनि थिएन ।

अर्थात छोरीलाई दिनुपर्ने समय हामीले समाजलाई दियौं ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180