Aawaj Nepal
Aawaj Nepal

साइकल दौडमा पुरुषलाई पछि पार्ने महिलालाई रोकिएपछि…


आवाजनेपाल, २०७५ फाल्गुन २७ सोमबार


साइकल दौडमा पुरुषलाई पछि पार्ने महिलालाई रोकिएपछि…

बेल्जियममा आयोजित एक विशेष साइकल कुदाउने प्रतियोगितामा एकजना महिला प्रतिस्पर्धीलाई बीचमै रोकियो केहीबेर । महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता रहेको भए पनि ती महिला प्रतिस्पर्धीले पुरुष प्रतिस्पर्धीलाई समेत उछिन्ने छाँट देखेपछि आयोजकले उनलाई बीचमै रोकेका हुन् ।

गत शनिवार ओमलूप हेट न्युजब्लाड नामको संस्थाले सो साइकल रेसको आयोजना गरेको थियो । उक्त रेसमा भाग लिएकी निकोल हेनस्लमनलाई ३५ किलोमिटर दूरी पार गरिसकेको अवस्थामा संस्थाका रेश मार्सलले बाटोमै रोके, जतिबेला उनी तीव्र गतिमा साइकल कुदाउँदै पुरुष प्रतिस्पर्धीहरुलाई भेट्टाउनै आँटेकी थिइन् ।

उक्त प्रतियोगितामा महिलाभन्दा पुरुषको दौड १० मिनेट अगाडि नै सुरु गरिएको थियो । तर १० मिनेट पछाडि साइकल दौडाउन सुरु गरेकी हेनस्लमन यति तीव्र गतिमा हुइँकिइन् कि पुरुष टोलीलाई भेट्टाउन थालिन् । त्यतिबेलासम्म उनको महिला टोली निकै पछाडि थियो ।

कूल १ सय २३ किलोमिटर दूरीको साइकल दौड थियो त्यो । झण्डै एक चौथाइ दूरी पार गरिसक्दा पुरुष प्रतिस्पर्धीहरुलाई भेट्टाएपछि उनलाई रोकिएको थियो । पुरुषहरु अलिक अगाडि बढेपछि मात्र साइकल कुदाउन भनियो उनलाई ।

केहीबेर रोकिँदासम्म पुरुष प्रतिस्पर्धीहरु अगाडि बढिसकेको थिए भने निकै पछाडि रहेका महिला प्रतिस्पर्धी पनि नजिकै आइपुगेका थिए । तब मात्र उनलाई साइकल अगाडि बढाउन अनुमति दिइयो ।

उनलाई नरोकिएको भए उनी आफ्ना महिला प्रतिस्पर्धीलाई निकै पछि पार्दै दौड पूरा गर्थिन् होला । तर बीचमा रोकिनु पर्नाको असर निकोलले भोग्नुपर्यो । उनले बीचमा रोकिएर पुनः साइकल दौड सुरु गर्दा पहिलेको गति कायम गर्न सकिन् । जसका कारण उनी निकै पछि परिन् र उनी प्रतियोगितामा ७४ औँ स्थानमा पर्नुपर्यो । पहिलो स्थान चन्ताल ब्ल्याक नामकी महिलाले प्राप्त गरिन् ।

उनले आफ्नो इन्स्टाग्राममा घटनाको विवरण दिएकी छिन् । आफूलाई रोक्नुको कारणबारे उनले मजाक गर्दै लेखकी छिन्, ‘सायद म र मेरा महिला साथीहरु निकै तेज थिए या भनौँ पुरुषहरु स्लो थिए ।’

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180