Aawaj Nepal
Aawaj Nepal

‘चर्चाका लागि काम गरेको छैन, देश रहे मात्र हामी रहन्छौँ’


आवाजनेपाल, २०७५ भदौ २९ शुक्रबार


‘चर्चाका लागि काम गरेको छैन, देश रहे मात्र हामी रहन्छौँ’

– टीका बम्बजन (गीतकार/संगीतकार)

यो देशलाई सबैले माया गर्नुपर्छ
माटोले माग्दैन आफैँले दिनुपर्छ

यो राष्ट्रिय गीतका शब्द, सिर्जना र आवाज टीका बम्जनको हो । टीका बम्जन नेपालकै संगीत क्षेत्रका ३ वटा वल्र्ड रेकर्ड राख्ने व्यक्ति हुनुहुन्छ ।
२०३५ सालमा सर्लाहीमा जन्मिएका गायक बम्जन देश रक्षाको जिम्मेवारीका क्रममा उनले कर्मको हात गुमाउनुभयो । तर जीवनमा उहाँले संघर्षको बाटोलाई कहिल्यै विराउनुभएन र उहाँ आज पनि राष्ट्र सेवासंगै सांगितिक यात्रामा पनि निकै सक्रिय हुनुहुन्छ । सामन्य परिवारमा जन्मनुभएका बम्जन विद्यालय शिक्षा सकारएर केही ठूलो सपना बोकेर राजधानी आउनुभयो । उहाँलाई सानैदेखि नेपाली सेना मन पथ्र्यो र उहाँ नेपाली सेनामा भर्ना पनि हुनुभयो । नेपाली सेनामा रहँदा पनि उहाँ गीतसंगीतमा रम्न भने छुटाउनुभएन । उहाँको जीवन संघर्ष, सांगीतिक यात्रा र भोगाइको बारेमा आवाजनेपालले केही समयअघि छोटो कुराकानी गरको थियो ।

प्रस्तुत छ सोही कुराकानीको मुख्य अंश–
केमा व्यस्त हुनुहुन्छ ?

गीतसंगीतमै व्यस्त छु । जसरी मलाई विश्वास गरेर स्वदेश तथा विदेशबाट गीत दिनुहुन्छ सर्जकहरुले उहाँहरुको गीतलाई संगीत भर्नमै व्यस्त छु । उहाँहरुको सिर्जनालाई सतप्रतिशत न्याय दिने काम गरिरहन्छु र गरिरहेको छु ।

संगीतिक क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?

संगीतिक क्षेत्र भन्नुपर्दा म यसलाई दुई भागमा विभाजन गर्न चाहन्छु । अनौपचारिक र औपचारिक गरी । २०५६ सालमा नेपाली सेनामा आबद्ध भए र सोही साल देखि नै संगीतिक क्षेत्रमा पनि आबद्ध भए । जतिखेर राजधानीको भक्तपुरमा थिए । त्यतिबेला विदा मिलाएर कार्यालयको समय व्यवस्थापन गरेर संगीत अध्ययन गरेका थिए ।
तर गीत रेकर्डिङ गर्न थालेको चाहिँ २०५८÷५९ सालतिरबाट हो । दुर्घटनापछि मैले छ–सात महिना आराम गरेँ । त्यसपछि म पुर्णरुपले संगीतिक क्षेत्रमा लागेँे । म यो जीवनलाई पुनर्जन्म ठान्छु । किनभने २१ वर्षमा दुवै हात गुमाएँ । जीवन फ्रस्टेसनको पिरियडमा थियो । धेरै दुःख भोगेको छु । धेरै रोएको छु जीवनमा । ६ महिना त म रोएरै बिताएँ । अस्पतालको शैयामा रहेको बेला म धेरै रुन्थेँ । तैपनि मैले संगीत क्षेत्रलाई पनि संसंगै यहाँसम्म ल्याएको छु । गीत रेकर्ड गर्न २०५९ सालको अन्तिमतिर आएर गीत रेकर्ड गरे । मेरो यो संगीत क्षेत्रमा मेरो डेढ दशक लामो यात्रा छ ।

तपाईकै सांगीतिक जीवनको कुरा गरौं– गीत लेख्ने, संगीत भर्ने र गाउने काम गर्नुहुन्छ । तपाईकै जीवनसँग मेल खाने गीत पनि लेख्नु÷गाउनुभयो भन्ने सुनिन्छ नि ?
मैले २०६० सालमा कस्तो भाग्य भन्ने गीतको एल्बम निकालेको थिएँ । मेरै जीवनसंग मेल खाने जुन मैले मुखले लेखेको गीत हो । त्यो एल्बममा भएका गीत नितान्त मेरो जीवनसंग मेल खान्छन् । त्यो एल्बममा कर्णदास, ईश्वर अमात्य, जगदिश समाल, शिव परियार, रामचन्द्र काफ्लेले स्वर भर्नुभएको थियो ।
एउटा राष्ट्रभक्तिको गीत, जसले तपाईलाई संगीत क्षेत्रमा अझ चिनाउने काम ग¥यो । यो गीत चाहिँ कसरी कुन बेला रचना गर्नुभयो ?
यो देशलाई सबैले माया गर्नुपर्छ ।
माटोले माग्दैन आफैले दिनुपर्छ ।
यो गीत नेपाली सेनाको माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने वृृत्तचित्रकै प्रेरणा हो । यो विश्वभर चर्चामा छ । मैले त्यही माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने मुख्य शिर्षकलाई गीत बनाएको थिएँ ।
मैले गीत लेखिसकेपछि त्यतिबेला रेडियो नेपालमा चलिरहेको नेपाली सैनिक कार्यक्रममा मेरो अन्तर्वार्ता थियो । त्यहीबेला रेडियो नेपालको कार्यक्रममा गीत गाँउदा दोस्रो पटक मलाई प्रधानसेनापतिले बढुँवा गरिदिनुभएको थियो ।

बाल्यकाल, विद्यार्थी जीवन र सैनिक जीवनमा परिवर्तन हुँदा कस्तो महशुस गर्नुभयो ?
नेपाली सेना मेरो पेशाले सेवा हो । धर्म हो । मेरो कर्तव्य, जिम्मेवारी भनेकै राष्ट्रसेवा हो । तर एउटा व्यक्तिगत जीवनमा फरक त भईनै हाल्छ । ०५६ सालमा सेनामा भर्ति भयो । ०५९ सालमा मंसिर १३ गते कर्मको दुबै हात गुमाएँ । मैले अघि नै भनेँ, देश द्वन्द्वको चरम उत्कर्षमा थियो । जीवनमा धेरै दुःखहरु भोगेको छु, जीवनका दुःखहरुको अनुभव गरेको छु । धेरैले मेरो जीवन देख्दा अनुभव गर्नुहुन्छ– मैले कत्ति संघर्ष गरेको छु भन्ने । तर वास्तवमा अन्तर त धेरै दुःखहरुको भोगाईहरुको । मेरो जीवनमा एकदमै स्ट्रोङ पोइन्ट बनाएको छ । दुःखको कुरा गर्ने हो भने कहिल्यै पनि नटुगिने यात्रा, कथा, व्यथा एउटा जीवनको स्टोरी छ ।
सेनामा रहेर पनि संगीतलाई निरन्तरता दिनुभयो । सेनाका उच्च पदस्थ व्यक्ति, तपाईको परिवारको साथ कत्तिको पाउनुभयो ?
सबैको माया र हौसलाले नै यहाँसम्म आएको छु । नेपाली सेनाकै कुरा गर्दा मैले दुईपटक गीतसंगीतबाटै प्रोमोसन पाएँ, त्यो मेरो संगीतिक क्षेत्रको ठूलो उपलब्धी ठान्छु । मेरो परिवारको पनि साथ छ । समर्थन छ । माटोले माग्दैन भन्ने गीत मैले डिजिटल काठमाण्डौमा रेकर्ड गरेको हुँ जून हामी यही छौ ।

सेना मैनबत्ती हो भनिन्छ, आफूलाई जलाएर अरूलाई उज्यालो बनाउने । देश र जीवनमा के फरक पाउनुभएको छ ?
वास्तवमा देश रह्यो भने मात्र हामी रहन्छौँ । नेपाल प्रकृतिले धनी छ । प्राकृतिक सुन्दरताकै बयान गर्ने हो भने विश्वमा कमै होला हाम्रो जस्तो सुन्दर देश । तर जुन तवरले देशको विकास हुनु पथ्र्यो त्यो भईरहेको छैन । देशमा सम्भावनाहरु धेरै छन् । अहिले विकास र निकास पाइरहेको छैन । स्वच्छ वातावरणमा पनि नेपाल विश्वको राम्रो सुचीमा पर्छ । जलश्रोतको धनी छ । वास्तवमा मेरो जीवन र देशको कुरा गर्ने हो भने देश नै पहिला सम्झन्छु । देश छैन भने हाम्रो अस्तित्व नै रहन्न । देशको नागरिक भएपछि नागरिकको कर्तव्य हुन्छ, दायित्व हुन्छ देशका लागि केही गर्ने, त्यसमा देशको सेवाकै लागि लागिपरेको नेपाली सेना देशको रक्षक हो । राष्ट्रभन्दा ठूलो अरु हुँदैन ।

अब पारिवारिक प्रसंग उठाऊँ, तपाईको परिवारमा हाल को–को हुनुहुन्छ ?
अहिले परिवारमा बुवाआमा, एक भाई र बहिनी छौँ । म घरको जेठो हुँ । म विवाहित हुँ, मेरो एउटा छोरा छ । श्रीमतीसहित मेरै एकल परिवारमा चाहिँ तीनजना छौँ ।
भनिन्छ– परिवारको जेठो छोरामा जिम्मेवारी बढी हुन्छ, अनि देशको जिम्मेवारी पाउँदा यी दुबै जिम्मेवारी बहन गर्न कत्तिको अप्ठेरो भयो ?
मेरो लागि देश र परिवार दुबै बराबरी हो । हरेक मान्छेको फरक–फरक मत हुन्छ । मेरो मतमा चाहिँ देश नै पहिलो जस्तो लाग्छ । ज्यान रहे पो जहान रहन्छ भने जस्तै हो । देश स्वतन्त्र र सर्वभौम भयो भने परिवारको जिम्मेवारी त आफैँले बहन गर्न सकिन्छ ।

अहिलेसम्म तपाईको जीवनको सांगीतिक यात्राको कुुरा गर्नुस्, के–के गर्नुभयो ?
मेरो डेढ दशक लामो सांगीतिक यात्रामा धेरै कुराहरु सिकेँ । अरुले जस्तो चर्चामा आउनका लागि काम गरिएन । मुखैले तीन–चार सयवटा गीत लेखँे । मैले आफैले २ दर्जनभन्दा बढी गीत रेकर्ड गरेको छु । स्वर मैले कमैमा भरेको छु । मेरो यो करिअरमा व्यस्त चाहिँ संगीत भर्नमै भए । गाउनका लागि आएको हो तर संगीत भर्नमै व्यस्त भएको छु । यो संगीत पनि विधा हो जुनै क्षेत्रमा काम गर्न आफ्नै सिर्जना हुन्छ । कोही गाएर आउनुहुन्छ कोही संगीत भरेर सिर्जना फरक फरक हुन्छ । मैले एकिन जानकारी त राखेको छैन तर छ, सात सय जतिमा संगीत भरेको छु ।

तपाईको बुझाइमा संगीत के रहेछ ?
संगीत महासागर हो । संगीत पूजा हो, चिन्तन हो, साधना हो । किनभने संगीतलाई निरन्तरता दिनका लागि अभ्यास चाहिन्छ । हामीलाई दैनिक जीवनका लागि आवश्यक गाँस, बास, कपासको आवश्यकता परेजस्तै संगीतलाई यथास्थितिमा राख्न साधना आवश्यक हुन्छ ।
मैले पनि धेरै कुरा सिकेको छु । कतिपय सिक्न पनि बाँकी छ । यो निरन्तर जारी पनि रहन्छ । धेरै गुरुहरुसंग मैले पनि संगीतको साधना गरेको छु । तर यसलाई निरन्तरता दिन भने सकेन । कतिपय ठाँउमा पाठ्यक्रम नहुने जस्ता कुराहरु हुन्छन् । तर संगीतमा अभ्यासचाहिँ जरुरत हुन्छ ।

व्यक्तिगत कुरा गरौँ, जीवनमा भुल्नै नसकिने क्षण कुनै छ ?
भुल्नै नहुने क्षण छ । एउटा खुसीको अर्को दुःखको । ०५९ मंसिर १३ कर्मको दुबै हात गुमाएको त्यो मेरो जीवनको भुल्नै नसकिने दुःखको क्षण हो । खुुसीको क्षण– संगीतिक क्षेत्रमा ३ वटा विश्व रेकर्ड राख्दाको क्षण हो । यी भुल्नै नसकिने क्षण हुन् । यससँगै मैले संगीतिक क्षेत्रमा देश–विदेशमा स्टेज सो गर्न पाएँ, त्यो पनि खुसीको क्षण हो । अब यो वर्षको दशँैमा सिंगापुर र मलेसिया जाने कार्यक्रम तय भएको छ, एउटा अवार्डका लागि । यो क्षण पनि खुसीकै क्षण हुने । वर्षको सर्वोकृष्ट गीत र संगीत अवार्ड पनि पाएको छु । डेढ दशकको सांगीतिक अरिअरमा ऐतिहासिक सांगीतिक एकल साँझ गरेको छु । त्यो साँझमा दर्शकको निकै उपस्थिति थियो । त्यो पनि जीवनकै खुसीको क्षण थियो ।

विश्व रेकर्डचाहिँ कुन–कुन विधामा राख्नुभयो ?
विश्व रेकर्ड राख्नका लागि त्यति सजिलो छैन । तर पनि परिस्थिति र बाध्यताले मानिसलाई खुसी र शिखर पनि चुम्न सिकाउँदो रहेछ । तपाईलाई मैले अघि पनि भनेँ– मैले मुखले नै गीत लेख्ने गर्दछु । विश्व रेकर्ड कायम गरेको पनि मुखले गीत लेखेरै हो । मैले मुखले गीत लेखेरै ३ वटा वर्ड रेकर्ड एकै दिनमा पाएको हो ।

मुखले लेख्नु हातले लेख्नुभन्दा कत्तिको गाह्रो भयो ?
फरक र गाह्रो छ । दुबै हात गुमाएपछि मैले लेख्ने विकल्प खोज्नुपथ्र्यो । अनि मुखले नै लेख्छु भन्ने सोचेँ र लेख्न थालँे । अप्ठेरो त सुरुमा जुन कुरा पनि हुन्छ । मुखले लेख्नु र हातले लेख्नु आकाश–पातल जत्तिकै फरक छ । मैले त्यसलाई सहजै स्वीकारँे । आफ्नो सिर्जना हो, जसरी लेखे पनि हुन्छ । तर मलाई बाध्यता थियो मुखैले लेख्नुपर्ने र लेखेँ । हात नभएपछि कि त खुट्टाले लेख्नुपर्ने कि मुखैले लेख्नुपर्ने विकल्प थिएँ, मैले मुखले लेख्न थालेँ ।

तपाईको भोगाइको आधारमा जीवन के हो जस्तो लाग्छ ?
जीवन फूल पनि हो काँडा पनि हो । हरेक मान्छेको जीवन जिउने शैलीमा भर पर्छ । जीवनमा खुसी, उपलब्धी नसोचेको खुसीका कुराहरु भइरहन्छन् । यसरी जब जीवन उचाइँमा लम्कन्छ त्यो फूलको अवस्था हो । कसैलाई जीवन घण्टा, मिनेट, सेकेन्ड पनि बाँच्नै मन लाग्दैन, जीवन बोझ बन्छ भने त्यो काँडाको अवस्था हो । जीवनको यात्रामा कहिले खुसी होइन्छ, कहिले दुःखी ।

तपाईलाई अरु धेरैका लागि प्रेरणाको स्रोत बन्नुभयो नि ?
हो, अहिले सामाजिक सञ्जालले धेरै सजिलो बनाएको छ । मलाई देश–विदेशबाट धेरै शुभचिन्तकले सामाजिक सञ्जालबाट तपाई प्रेरणाको स्रोत हो भन्नुभएको छ । पत्रपत्रिका, फेसबुक, ट्वीटर लगायतका सञ्जालमार्फत पनि मलाई प्रेरणाको स्रोत हो भन्ने खालका प्रतिकृया आइरहन्छन् ।
म पनि चाहन्छु कि कसैले केही कुराहरु प्राप्त गर्न सकोस् । कम्तिमा उत्प्रेरणात्मक कुराहरु भइदिए अरुले पनि केही सिक्न सकिन्छ कि भन्ने हो, सबैले सकारात्मक दृष्टिकोणले हेरिदिने हो भने अरुको प्रेरणा बन्न सक्छ ।  मेरो संघर्षको कुरा गर्ने हो भने काठमाडौँको कुनचाहिँ ठाँउ होला टीका बम्जन नरोएको ? यहाँका धेरै गल्ली, बाटाहरु टीका बम्जनका पाइलाले नापेको छ । सुरुवाती चरणमा अन्तर्वार्ता दिन जाँदाखेरी राम्रो जुत्तासम्म हुन्थेन । चप्पलबाहिर टकटक्याएर खुट्टा धोएर भित्र अन्तरवार्ता गरेर आएको क्षण पनि छ । संगीत सिक्दाखेरी साधना गर्न हार्मोनियम पनि थिएन, श्रीमतीको मंगलसुत्र बेचेर किनेको हुँु । रियाज गर्थेँ– सातआठ घण्टासम्म । रियाज गर्दा यही हातले (हात देखाउँदै) गर्थे, सातैवटा नोटमा रगत लाग्थ्यो । संघर्ष स्ट्रगलको कुरा गर्ने हो भने एउटा पहाड नै छ । यी सबै कुराहरु पार गरेर यो परिस्थितिसम्म आएको छु । जे छु राम्रै छु । आफ्नो बलबुद्धिले भनौँ, या विवेकले भनौँ यहाँसम्म यात्रा गरेको छु । धेरथोर नाम, दाम कमाएको छु । टीका बम्जन भनेर धेरैले चिन्नुभएको छ । यसले मलाई खुुसी दिएको छ भने यो मेरो संघर्षको कथा धेरैलाई प्रेरणाको स्रोत बन्न सक्छ ।

डिजिटल रेकर्डिङसंगको सम्बन्धचाहिं कसरी जोडियो ?
पुरानो डिजिटल रेकर्डिङ स्टुडियो, जो डिका गुरुङको हो । उहाँ संगीत क्षेत्रमा धेरै अनुभव संगालेको व्यक्ति पनि हो । सो स्टुडियोमा उहाँसंग काम गर्दा सजिलो हुने हुँदा मेरो धेरै गीतहरु यही रेकर्ड हुन्छ । यस स्टुडियोले धेरै कलाकारहरुको उत्पादन गरिसकेको छ । त्यसमा टीका बम्जन पनि यहाँसम्म आइपुगेको छु । मेरो धेरै समय यही हुन्छ ।

अन्तमा केही भन्नु छ ?
तपाईलाई धन्यवाद । गीत–संगीत मानव जीवनको दोस्रो जन्म हो । यसलाई हामीले जोगाउन र बृहत्तर विकासका लागि रोयल्टीको कुरा उठेको छ । सम्बन्धित क्षेत्रहरुले रोयल्टीलाई पनि ध्यानमा राखेर संगीत सुनिदिने हो भने स्रस्टा र संगीतप्रतिको मायालाई सम्मान हुन्थ्यो जस्तो लाग्छ । यसमा सबैले ध्यान दिन आग्रह गर्छु, जसले गर्दा कलाकारलाई प्रेरणा र बाँच्ने आधार हुन्छ ।

बम्जनसंग गरेको कुराकानी सुन्नुहोस्ः

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180