एजेन्सी – युइएफए नेसन्स लिगमा जर्मनीले विश्वविजेता फ्रान्सलाई बराबरीमा रोक्न सफल भएको छ । म्युनिखमा भएको खेलमा घरेलु टोलीले फ्रान्सलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो ।
एलिनाज एरिनामा बिहिबार राति भएको खेलमा घरेलु टोलीले फ्रान्सलाई दवावमा राखेपनि गोल गर्न सकेन । जर्मनीले गोलका केही सुन्दर मौकाहरु खेर फालेको थियो । फ्रान्सले पनि केही मौकाहरु खेर फाल्दा खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दुवै टोलीले आफ्नो पहिलो रोजाइका खेलाडीलाई मैदान उतारेका थिए । फ्रान्सका नियमित कप्तान तथा गोलरक्षक ह्युगो लोरिस चोटका कारण अनुपस्थित रहेपछि अल्फोन्स एरिओलाले पोस्ट सम्हालेका थिए । विश्वकपमा खेलेको टोलीले नै जर्मनीको सामना गरेको थियो । जर्मनीले जोसुआ किमिचलाई मिडफिल्डमा खेलाएर डिफेन्समा मथिआस जिन्टरलाई मौका दिएको थियो ।
बराबरीसँगै समूह ‘ए’ मा फ्रान्स एक खेलबाट १ अंकसहित शीर्ष स्थानमा रहँदा जर्मनी १ अंकसहित दोस्रो स्थानमा खेल नखेलेको नेदरल्यान्ड तेस्रो स्थानमा छ ।