Aawaj Nepal

छाँउगोठ महिलाको काल, एनजिओ आइएनजिओको दुहुनो गाई


आवाजनेपाल, २०७४ चैत ४ आइतबार


  • गोविन्द कुँवर

पुरुष प्रधान वा पितृसतात्मक नेपाली समाजमा महिला र पुरुषबीचको विभेद अझै पनि कामय छ । अझ नेपालको सुदुर र मध्यपश्चिममा झन् यसले नराम्रोसंग जरा गाडिरहेको छ । सुदुर र मध्यपश्चिममा महिलालाई महिनावारी भएको बेलामा छाउ गोठमा अझै पनि बाध्य गराएर बस्न लगाएका छन् ।
महिनावारी भएको बेलामा महिलाले घरमा बस्न नहुने तथा घर देउता रिसाउने तथा पाप लाग्छ भन्ने अन्धविश्वासका करण आज पनि सुदुर र मध्यपश्चिमका महिला पीडित छन् । छाउगोठमा महिला एक्लै बस्नुपर्ने तथा विभिन्न जनवार र संक्रमणका कारण कतिपय महिलाले अकालमै ज्यान गुमाउन बाध्य छन् अझै पनि ।

विज्ञानको विकास र सम्बृद्धिले विश्व चमत्कारको दुनियामा पुगिसकेको बेलामा नेपालका अछाम, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, एवम् सुदुरपश्चिका पहाडी जिल्ला तथा मध्यपश्चिका अधिकांश पहाडी जिल्लामा छाउपडी प्रथाले गाजिरहेको छ ।

परिवारले नै माया गर्दैनन्

अछाम चौरपाटी गाउँपालिका २ सोकटकी जानकी साउद पनि छाउगोठमा बस्न बाध्य भएको बताईन् । उनी मात्र होइन उनको परिवारको सबै छोरी तथा बुहारी महिनावारी भएको बेलामा घरमा बस्न पाउदैनन् । उनको मात्र होई सिंगो टोल, गाँउकै छोरी तथा बुहारी हरेक महिनामा हुने महिनावारीको बेलामा घरबाट टाढा बस्नुपर्ने बाध्यता छ ।

महिनावारी भएको बेलामा उनीहरुलाई घरपरिवारले पनि राम्रो व्यवहार गर्दैनन् । महिनावारी भएको बेलामा छाँउगोठमा पानी चुहिएमा वा छाँउ गोठ चिसो भएको बेलामा पनि उनीहरु घरमा आउन पाइदैन र बाध्य भएर छाँउगोठमै बस्नुपर्ने सुदुर र मध्यपश्चिमका महिलाहरुको गुनासो छ ।
जानकीले जीवनमा महिला भएर जन्मेकोमा दुखेसो पोखेकी छन् । छाउगोठ चुहिएको बेला तथा पानी परेको बेलामा घरमा पनि बस्न नपाँउने तथा ओत लाग्नका लागि रुखमुनी बस्नुपर्ने बाध्यता सुनाईन् ।

उनी त सुदुरपश्चिको प्रतिनिधी पात्रा मात्र हुन् । उनी जस्तै हजारौ महिला यही पीडाले थलिएका छन् । र महिनावारीको बेलामा घरबाट टाँढा बस्न बाध्य छन् । सुदुर र मध्यपश्चिममा महिलालाई महिनावारी भएको बेलामा महिलालाई घरबाट टाँढा राख्ने तथा छाँउगोठमा बस्नुपर्ने बाध्यता मात्रै होईन कतिपय महिलाले छाँउगोठमै मृत्युवरण गर्नेपर्ने पीडा अझै पनि रहेको जानकी बताउनछिन् ।
छाँउगोठमा बस्नुपर्दा र महिलालाई आफ्नै घरपरिवारले पशुभन्दा पनि तल्लो व्यवहार गरेको भन्दै उनले मन दुखाएकी छन् । उनी भन्छिन्ः सबै कुरा सम्झदा मन कटक्क दुख्छ । उनको गुनासो छ, छोरी भएर जन्मनु सबैभन्दा ठूलो गल्ती रहेछ ।

सुत्केरी पनि छाँउगोठमै
सुदुर र मध्यपश्चिममा महिनावारी भएको बेलामा मात्र होईनन् सुत्केरी भएको बेलामा पनि छाँउगोठमा बस्नुपर्ने बाध्यता छ । सुत्केरी महिला घरमा राख्दा बाघ, सार्प, देवता रिसाउने भन्ने अन्धविश्वास मान्यताका कारणले अहिले पनि यी क्षेत्रका महिलाहरुले छाँउगोेठमै सुत्केरी हुनुपर्ने बाध्यताले सताईरहेको छ ।

अछामका सबै ठाउँमा सुरक्षीत बर्थीङ्ग सेन्टर छैनन्। तर भएको बर्थीङ्ग सेन्टमा पनि महिलाहरु सुत्केरी गराउन जाँदैनन् र जानुपर्छ भन्ने चेतना अझै पनि विकास हुन सकेको छैन र उनीहरु छाँउगोठमै सुत्केरी गराउछन् ।

छाँउगोठमै मृत्युवरण
अछाममा १० वर्ष यता ा १२ जना महिला, किशोरीले छाउपडी गोठमा ज्यान गुमाइ सकेका छन् । चौरपाटी गाउँपालिका २ पायलकी रनतदेवी विक, पार्वती आउजी, झुप्री ढोली, साफेबगर नगरपालिकाकी शर्मिला भूल,जयगढ बान्नीगढी गाउँपालिकाकी रोशनी तिरुवा, डम्मरा उपाध्याय, ढकारी गाउँपालिकाकी लक्ष्मी बुढा, तुर्माखाँद गाउँपालिकाकी गौरी बुढा, रानिवनकी हंसदेवी जोशी, हंसा जौसी, डिक्रादेवी बिक, झुमादेवी शाही, लगायतले छाँउगोठमा ज्यान गुमाई सकेका छन् ।


छाँउगोठ मुक्त घोषणा
पायल, रामारोशन, कालिकास्थान, तुर्माखाँद, गाज्रा, जनालिकोट, कुइका, विबनायक, जुपू, जाल्पादेवी, चण्डीका, वलिगाँउ, जनालिबण्डाली, यि साविका गाविसलाई छाउगोठ मुक्क्त महिला तथा बालदबालिका कार्यालयले घोषण गरिएको थियो । सुतार, भाटाकाटिया, बलाता, ढुंगाचाल्ना, ढकारी, बस्ती, दर्ना, हिच्मा र शान्तडा साविका गाविसलाई गा्रमीण जलस्रोत परियोजनाले घोषणा गरिएको थियो । चाल्सा घोषण, गर्ने निकाय वल्ड भिजन, भागेश्वरलाई सम बिकास नेपाल, बान्नातोली, रिडिकोट, घोडासैन, मष्टाबण्डाली, चाफामाण्डौ र सेरा गाविसलाई स्वर्यम गाविसले नै छाउगोठ मुक्क्त गाविस घोषण गरिएको थियो ।

कार्यान्वयन अझै भएन
अछामका माथि उल्लेखित साविकका गाविसहरुमा छाँउगोठ मुक्त घोषणा गरे पनि कार्यन्वयनमा भने कमजोर देखिएको छ । विभिन्न समयमा विभिन्न तत्कालिनका गाविसहरु छाँउगोठमुक्त घोषणा गरे पनि ती गाँउहरुमा अझै पनि महिलाहरु महिनावारी भएको बेलामा र सुत्केरी भएको बेलामा छाँउगोठमा बस्न बाध्य छन् ।

चुनावको एजेण्डा
भर्खरै सम्पन्न तीन तहको निर्वाचनमा अछाम लगायत सुदुर र मध्यपश्चिमका जिल्लामा राजनितिक दलहरुले छाँउगोठ मुक्त र छाँउपडी प्रथा अन्तको एजेण्डा लिएर चुनावी मैदानमा उत्रिए र यही एजेण्डालाई स्थानीय जनताले साथ दिएर उनीहरु जनप्रतिनिधीको कुर्सीसम्म पु¥याएरका छन् ।

राजनितिक दलले चुनावी मौसममा जसरी आफ्नो एजेण्डा प्रस्तुत गरेका थिए तर त्यो कार्यान्वयनको सुरुवाती चरणमा भने केही नगरेको जस्तो पाईएको छ । चुनाव सकिएको धेरै समय भए पनि उनीहरुले अझै पनि छाँउपडी प्रथा अन्तका लागि कुनै पनि पहल गर्न सकेका छैनन् । अब जनप्रतिनिधीले जनताको अभिमतलाई कसरी सम्मान गर्ने हो त्यो हेर्ने समय अझै बाँकी नै छ ।

छाँउगोठ एनजिओ र आइएनजिओको दुहुनो गाई
पछिल्लो समय सुदुर र मध्यपश्चिमका पहाडी जिल्लाहरुमा आइएनजिओ र एनजिओले छाँउगोठ तथा छाँउपडी प्रथा अन्त्यका लागि विभिन्न परियोजना संचालन गरिएका छन् र गरिरहेको छ । तर उनीहरुले संचालन गरेको परियोजना सम्बन्धित बर्ग वा समुदायसम्म पुग्न नसकेका कारण आइएनजिओ र एनजिओले संचालन गरेको परियोजना काम नलाग्ने बनेका छन् । परियोजनालाई एनजिओ तथा आइएनजिओ निश्चित समय र औपचारिकतामा मात्र सिमित गराउने गरेको पाईएको छ । केही स्वास्थ्य स्वयमसेविका तथा सामाजिक कार्यकर्तालाई मात्र परियोजना लक्षित गरेको पाईएको छ । स्वास्थ्य स्वयमसेविका तथा सामाजिक परिचालकको भरमा छाँउगोठ मुक्त घोषणा गर्ने गरेको पाइएको छ ।

आइएनजिओ तथा एनजिओहरु सेवामुखी भन्दा पनि बढी आम्दानी र धनमुखी हुने गरेको पाइएको छ । उनीहरुले संचालन गरेको परियोजनाबाट कुन समुदाय वा कुन क्षेत्रमा कस्तो प्रभाव पारेको छ भन्ने भन्दा पनि उनीहरुले कुन समुदायलाई कति खर्च गर्ने र कसरी खर्च गर्ने भन्ने विभिन्न स्वार्थका कारण छाँउगोठ मुक्त अभियान सफल नभएको सुदुर तथा मध्यपश्चिमका जनाकारहरुको भनाई छ ।
आइएनजिओ र एनजिओहरु आंशिक फाईदा      कै कारण विभिन्न परियोजनाहरु संचालन गरे पनि त्यो परियोजना सम्बन्धित बर्ग वा समुदायमा पुग्न नपाउदै बन्द गरिदिने र समस्यालाई जस्ताको तस्तै राख्ने प्रबृत्ति बढेका कारण छाँउपडीलाई एनजिओ र आइएनजिओहरु आर्थिक उपार्जनको ठूलो माध्यम बनाई छाँउगोठलाई दुहुनो गाईको रुपमा लिने गरेका छन् ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180